सभापति बाहेक पदाधिकारी र सदस्यको मतपेटिका सानेपा पठाइँदै
काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति चयनका लागि भएको मतदान सकिएको छ। मध्यरातमा सकिएको मतदानमा ४ हजार ६८१ मत खसेको निर्वाचन समितिले जनाएको छ।
देशभरबाट चुनिएका ४ हजार ७४३ महाधिवेशन प्रतिनिधि मध्ये ४ हजार ६८१ प्रतिनिधिले मत खसालेका हुन्। सभापतिको मतगणना अब केहीबेरमा सुरु हुँदै छ। मतपेटिका सङ्कलन गरेर मुचुल्का उठाइसकिएको समितिका सदस्य तेज रावलले जानकारी दिए।
‘मतगणनाको तयारी गरिरहेका छौँ,’रावलले भने,‘अब केहीबेरमा मतगणना सुरु हुन्छ।’ निर्वाचन समितिका अनुसार बिहानसम्म सभापतिको मतगणना सकेर नतिजा सार्वजनिक गर्ने तयारी छ।
सभापतिमा निर्वाचित हुन खसेको मतको ५१ प्रतिशत अर्थात् २ हजार ३४२ मत प्राप्त गर्नुपर्नेछ। सभापतिमा शेरबहादुर देउवा, डा.शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ चुनावी प्रतिस्पर्धामा छन्।
सभापतिका उम्मेदवारले ५१ प्रतिशत मत नल्याए मंगलबार दोस्रो चरणको चुनाव हुने समितिले जनाएको छ।
सभापति बाहेकका पदाधिकारी र सदस्यको मतगणना कांग्रेस पार्टी कार्यालय सानेपामा हुनेछ। मतदान सकिएकाले मत पेटिका मुचुल्का गरेर कांग्रेस पार्टी कार्यालय ललितपुर सानेपामा पठाउने समितिका सदस्य रावलले जानकारी दिए।
मंसिर २८, २०७८ मंगलबार ०१:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।