राति १ बजेबाट कांग्रेस सभापतिको मतगणना गर्ने तयारी 

राति १ बजेबाट कांग्रेस सभापतिको मतगणना गर्ने तयारी 

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति चयनका लागि भएको मतदान सकिए लगत्तै सभापति पदको मतगणना सुरु हुने भएको छ। 

सभापतिको पदको मतगणना आजै हुने निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए। सभापति बाहेकका पदाधिकारी र सदस्यको मतपेटिका भने कांग्रेस पार्टी कार्यालय ललितपुर सानेपा पठाइने उनले बताए। 

सभापति पदमा भएको मतदानको मतगणना राति १ बजेबाट सुरु गर्ने तयारी समितिले गरेको छ। 

सभापति पदमा निर्वाचित हुन ५१ प्रतिशत मत ल्याउनु पर्ने कांग्रेस विधानमा व्यवस्था छ। सभापति पदमा शेरबहादुर देउवा, डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ चुनावी मैदानमा छन्। 

सभापतिका पाँच उम्मेदवार मध्ये कुनैले पनि ५१ प्रतिशत मत नल्याए बढी मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणको चुनाव हुनेछ। दोस्रो चरणको चुनाव गर्नु पर्ने भए भोलि मंगलबार नै मतदान गराउने तयारी कांग्रेसको निर्वाचन समितिले जनाएको छ।  

मंसिर २७, २०७८ सोमबार २२:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।