गभर्नरको सम्पत्ति : ललितपुरमा १४ रोपनी जग्गा, २७ तोला सुन

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उनको ललितपुरमा १४ रोपनी जग्गा रहेको देखिएको छ।
चैत २४ गते गभर्नर भएका अधिकारीको सम्पत्ति विवरण सोमबार नेपाल राष्ट्र बैङ्कको वेबसाइटमा राखिएको छ।
उनको सम्पत्ति विवरण अनुसार उनको परिवारको नाममा १० ठाउँमा जग्गा छ। ललितपुरको सैंवु गाविसमा १४ रोपनी जग्गा छ भने मकवानपुरमा २ कट्ठा जग्गा रहेको छ।
उनको श्रीमती सरिता अधिकारीको नाममा समेत जग्गा रहेको छ। ललितपुरमा रहेको १४ रोपनी जग्गा उनको पुर्खौली सम्पत्ति हैन। उनले सम्पत्ति विवरणमा विराटनगरमा रहेको घरजग्गा विक्री गरेको रकम, सापटी अनि बचतबाट सो जग्गा किनेको दाबी गरेका छन्। उनले कतिमा सव् जग्गा किनेको हो सो भने खुलाएका छैनन्। वर्तमान मूल्य अनुसार ललितपुरमा रहेको उनका जग्गा मात्रै ३० करोड माथिको देखिन्छ।
ललितपुरमा उनको घर समेत छ। घर उनकी श्रीमतीको नाममा रहेको छ। उनले २०५९ सालमा सञ्चय कोष, बैङ्क ऋण र बचतको प्रयोग गरेर घर बनाएको दाबी गरेका छन्।
झापाको सुरुङ्गामा श्रीमती सरिताको नाममा तीन ठाउँमा जग्गा छ।
अधिकारीसँग करिब २७ तोला सुनका गहना छन्। ४ लाख ५५ हजार खरिद मूल्य रहेको सुन पैतृक, विवाह र पछि किनेको उनको दाबी छ। उनीसँग ५० चाँदी र १८ हजार रुपैयाँ मात्र पैसा रहेको दाबी गरिएको छ।
अधिकारी, श्रीमती सरिता र उनका सन्तानका नाममा विभिन्न कम्पनी तथा बैङ्क वित्तीय संस्था ५६ हजार २१३ कित्ता सेयर र नबिल ब्यालेन्स फन्ड २ को १ लाख ८० हजार कित्ता सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ।
मंसिर २७, २०७८ सोमबार २१:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।