लिङदेनलाई कमल थापाको पत्र : 'राजा' बाट प्रजातन्त्र मास्ने काम हुँदैन भन्ने के ग्यारेन्टी ?

काठमाडौँ : पार्टीको एकता महाधिवेशनमा अध्यक्षमा पराजित राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई पत्र पठाउँदै निर्वाचनकोक्रममा निर्मल निवासबाट भएको हस्तक्षेपबारे छानबिन गर्न माग गरेका छन्।
उनले पत्रमा निर्वाचनमा पूर्व राजा ज्ञानेन्द्र र निर्मल निवास सचिवालयले गरेको हस्तक्षेपबारे आफूसँग यथेष्ट प्रमाण रहेको भन्दै लेखेका छन्' स्वयम् पूर्व राजाको प्रत्यक्ष निर्देशनमा उहाँका सचिवहरू र नातेदारहरुले राजाको चाहना भन्दै महाधिवेशन प्रतिनिधिहरूलाई दबाब दिने र प्रभाव र प्रलोभनमा पार्ने काम खुला रूपमा भयो।'
उनले संवैधानिक राजतन्त्रको पक्षमा वकालत गर्ने पार्टीको आन्तरिक विषयमा पूर्व राजाले हस्तक्षेप गरेकाले अब राजतन्त्रको पक्षमा वकालत गर्ने राप्रपाको नैतिक धरातल समाप्त भएको समेत दाबी गरेका छन्।
उनले पत्रमा लेखेका छन्' शत प्रतिशत राजावादी भएको दलमा त पूर्व राजाको हस्तक्षेप हुन्छ भने भोलि राप्रपाको परिकल्पना अनुरूप राजसंस्था स्थापित भयो भने राजाबाट अन्य दल र राजनीतिमा हस्तक्षेप हुँदैन तथा विगतमा झैँ प्रजातन्त्र मास्ने काम हुँदैन भन्ने के ग्यारेन्टी?'
उनले जनताको मन जितेर राजसंस्था पुनर्स्थापनाको पक्षमा माहौल बनाउनुको साटो निर्मल निवास कहिले विदेशीको मुख ताक्ने त कहिले राजनीतिक अस्थिरता खडा गर्न केन्द्रित भएको आरोप समेत लगाएका छन्।
उनले अहिले पुन राप्रपालाई हतियार बनाएर अस्थिरता फैलाउन आफू सहमत नहुने देखेर लिङदेनलाई हतियार बनाएको भन्दै यसले वैकल्पिक राजनीतिक दलको रूपमा अगाडि बढेको राप्रपालाई प्रतिगामी कित्तामा धकेल्ने प्रयास भएको दाबी गरेका छन्।
उनले पार्टीको महाधिवेशनमा भएको निर्मल निवासको हस्तक्षेपबारे छानबिन गर्न निष्पक्ष छानबिन समिति बनाउन माग गर्दै हस्तक्षेपको भर्त्सना गरेर भविष्यमा हस्तक्षेप नहुने सुनिश्चितता गर्न समेत माग गरेका छन्।
मंसिर २७, २०७८ सोमबार १८:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।