१५७ सांसदको कोरोना परीक्षण, ६ अध्यादेश पेस गर्ने सम्भावित कार्यसुचि

काठमाडौँ : सङ्घीय संसद्का १५७ जना सांसदले कोरोना परीक्षण गराएका छन्। मंगलबार दिउँसो २ बजेका लागि आव्हान भएको सङ्घीय संसद्को बैठकमा उपस्थित हुने सांसद, कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मी लगायत ६४० जनाको कोरोना परीक्षण गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ।
बैठकको तयारीबारे सभामुख अग्नि सापकोटाले सोमबार प्रतिनिधि सभा बैठक कक्षको अवलोकन गरेका छन्।
संसद् सचिवालयले मंगलबारको बैठकको सम्भावित कार्यसूची पनि सार्वजनिक गरेको छ। संसद् अधिवेशनको सुरुमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन आव्हान गरेको पत्र पढेर सुनाउने कार्यतालिका रहेको सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेले जानकारी दिए।
संसद् बैठकमा यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश टेबुल हुने सम्भावित कार्यसूची सार्वजनिक भएको छ।
यस्तै तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश, सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश र रेल्वे अध्यादेश टेबुल गर्ने कार्यसूची छ।
मंसिर २७, २०७८ सोमबार १७:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।