गुट छुट्टा-छुट्टै तर गगन र विश्वप्रकाशलाई भोट माग्दै कार्यकर्ता

काठमाडौं : नेपाली कांग्रेसको १४औं महाधिवेशनमा युवा नेता गगन थापा र विश्वप्रकाश शर्मा दुवै महामन्त्रीका उम्मेदवार छन्। तर उनीहरुको प्यानल भने फरक-फरक छन्।
थापा शेखर कोइरालाको प्यानलबाट महामन्त्रीको उम्मेदवार छन् भने शर्मा प्रकाशमान सिंहको समूहमा मिसिएका छन्।
छुट्टाछुट्टै प्यानलबाट उम्मेदवार बने पनि कार्यकर्ताको रोजाइमा यी दुवै उम्मेदवार परेका छन्। उनीहरुले 'महामन्त्रीमा गगन-विश्वप्रकाश' भन्दै संयुक्त रुपमा भोट मागिरहेका छन्। राष्ट्रिय सभागृह अगाडि एकै व्यक्तिले दुवै जनाको ब्यानर बोकेर भोट मागिरहेको देखिन्छ।
'हामीलाई गुटको मतलब छैन। गगन र विश्वप्रकाश नै महामन्त्रीका लागि योग्य उम्मेदवार हुन्। कांग्रेसलाई गतिशील बनाउन यी दुवै युवा नेताले जित्नुपर्छ,' कार्यकर्ताको भनाइ छ।
१३औं महाधिवेशनमा कृष्ण सिटौलाको समूहबाट महामन्त्रीका उम्मेदवार बनेका गगन थापा यस पटक गुट परिवर्तन गरी शेखर कोइरालातिर लागेका हुन् भने सभापति शेरबहादुरको पक्षमा खुलेर लागेका विश्वप्रकाश शर्माले अन्तिम समयमा टिममा नअटाएपछि प्रकाशमानको समूहमा मिसिएर महामन्त्रीमा उम्मेदवारी दिएका हुन्।
मंसिर २७, २०७८ सोमबार १५:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।