सीप सिकाउने तालिम केन्द्र सातै प्रदेशमा

काठमाडौँ : सरकारले व्यवसायीक तथा सीप विकास तालिम केन्द्र सात वटै प्रदेशमा विस्तार गर्ने जनाएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तालिम केन्द्र सात वटै प्रदेशमा विस्तार गरिने बताएका हुन्।
व्यावसायिक तथा सीप विकास तालिम केन्द्र भैंसेपाटी ललितपुरमा पुननिर्मित भवन उद्घाटन कार्यक्रममा मन्त्री श्रेष्ठले स्वदेशी तथा विदेशी श्रम बजारमा प्रतिस्पर्धा गर्न तथा नयाँ श्रम शक्तिको लागि पर्याप्त रोजगारी सिर्जना गर्न तालिम केन्द्रहरू देशभर विस्तार गर्न लागिएको बताए।
श्रेष्ठले स्वदेशी तथा विदेशी श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्ने उद्यमशील, दक्ष, सीपयुक्त, श्रम शक्ति विकास गरी बेरोजगारी समस्या न्यूनीकरण गर्न तालिम केन्द्रहरू बिस्तार गर्नुपर्ने उल्लेख गरे।
आफ्नो कार्यकालमा वैदेशिक रोजगारीमा देखिएका सबै समस्या समाधान गर्ने र रोजगारीका पर्याप्त अवसर सिर्जना गर्न आधार खडा गर्ने उनले बताए। वैदेशिक रोजगारीका क्रममा हुने ठगी नियन्त्रणका लागि छुट्टै संयन्त्र निर्माण गर्न लागिएको मन्त्री श्रेष्ठको भनाइ छ।
२०७२ सालमा गएको भूकम्पका कारण भत्केको व्यावसायिक तथा सीप विकास तालिम केन्द्र भैंसेपाटी ललितपुरको भवन हालै निर्माण सम्पन्न भएको थियो। ९ करोड २४ लाख लागतमा निर्माण भएको ५ तले भवन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाईले निर्माण गरेको हो।
मंसिर २७, २०७८ सोमबार १४:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।