द्वन्द्वकालमा मारिएका पत्रकार डेकेन्द्रको हत्यामा संलग्न तीन जनालाई जन्मकैद

द्वन्द्वकालमा मारिएका पत्रकार डेकेन्द्रको हत्यामा संलग्न तीन जनालाई जन्मकैद

दैलेखः पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न तीन जनालाई जन्मकैदको फैसला सुनाइएको छ। जिल्ला अदालत दैलेखका न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले आइतबार दुल्लू नगरपालिका-६ का अरुण भनिने बमबहादुर खड्का, केशव खड्का र भगवतीमाई गाउँपालिका–६ का मुक्ति भनिने बमबहादुर खड्कालाई थापा हत्यामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो। 

जिल्ला अदालतका श्रेस्तेदार इन्द्रबहादुर कार्कीले थापा हत्याका मुख्य कसुरदार तीन जनालाई २० वर्ष र शव गाड्न सहयोग गर्ने कोहलपुर नगरपालिका–३ निवासी भक्तिराम लामिछानेलाई तीन वर्ष कैद तोकिएको जानकारी दिए। प्रहरीले हत्यामा संलग्न ९ जनामध्ये ५ जनालाई ०६९ पुस २० गते पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। 

विगत आठ वर्षदेखि मुल्तबीमा रहेको यो मुद्दा किनारा लागेको छ। तत्कालीन माओवादी कार्यकर्ताले रेडियो नेपालका स्थानीय संवाददाता थापालाई ०६१ साउन २७ गते दैलेखको उत्तर पूर्वी क्षेत्र नौमूलेको द्वारीमा कुटपिट गरी हत्या गरेका थिए। हत्यापछि शव लुकाइएको थियो।

शान्ति प्रक्रियापछि नेपाल पत्रकार महासङ्घ र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को पहलमा थापाको कङ्काल उत्खनन गरी डिएनए परीक्षण गरिएको थियो। डेकेन्द्र पत्नी लक्ष्मी थापाले ०६५ भदौ ६ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा किटानी जाहेरी दिएकी थिइन्। 

मंसिर २७, २०७८ सोमबार १२:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।