शेखरलाई समर्थन छ भनिएका रामचन्द्र- शशाङ्क दुवै खुलेनन्

शेखरलाई समर्थन छ भनिएका रामचन्द्र- शशाङ्क दुवै खुलेनन्

काठमाडौँ : पार्टीको निर्वाचन प्रक्रिया सुरु भएदेखि नै डा शशाङ्क कोइराला कतै देखिएका छैनन्। उद्घाटन शत्रमा सम्बोधन गरेर संस्थापनइतर समूहबाट रामचन्द्र पौडेललाई सर्वसम्मत सभापति बनाउने उनको प्रयास सफल भएन।

संस्थापनइतरबाटै डा शेखर कोइराला र प्रकाशमान सिंह उम्मेदवार बनेपछि उनले वारेसमार्फत केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए।आइतबारको शेखरको सभामा शशाङ्क आउने दाबी गरिए पनि उनी आएनन्।

सभापतिका अर्का प्रत्याशी शेरबहादुर देउवालाई समर्थन गरेको हल्ला पनि आए। यसबारे पुष्टि गर्न उनको सहयोगीसँग सम्पर्कको प्रयास गर्दा कुनै प्रतिक्रिया आएन।

शेखरले अन्तिम अन्तिम प्रचार सभामा रामचन्द्र पौडेल र डा शशाङ्कको आशीर्वाद आफ्नो समूहलाई रहेको दाबी गरे। तर उनको समूहबारे शशाङ्क बोलेका छैनन्।

शेखर प्यानलका महामन्त्रीका उम्मेदवार मिनेन्द्र रिजाल शशाङ्क समूहका नेता हुन्। उनकै सिफारिसमा रिजाल रक्षा मन्त्री भएका हुन्। यसले उनी शेखर प्यानलको पक्षमा देखिए पनि उनले औपचारिक रूपमा नबोल्दा अन्योल भने खोदिएको छ।

आखिर डा शशाङ्क किन भूमिगत ? उकेराले उनी निकट एक नेतालाई सोधेको थियो। ती नेताको दाबी अनुसार शशाङ्क संस्थापनइतर कुनै समूहको समर्थन गर्दै भोट माग्ने पक्षमा छैनन्। प्रकाशमानको समूहमा सुजाता कोइराला उपसभापतिको उम्मेदवार बनेपछि उनी थप प्रेसरमा परेका छन्।

'उहाँ भोट त हाल्नुहुन्छ। तर कसैको पक्षमा प्रचार भने गर्नुहुन्न,' ती नेताले दाबी गरे। उता शेखर समूहले भने सोमबार मतदान सुरु भएपछि आफ्नो पक्षमा भोट माग्न शशाङ्कलाई मतदाता रहेकै स्थानमा हिँडाउने रणनीति बनाएको शेखर निकट एक नेताले बताए।
'भोलि शशाङ्कले शेखरको भोट माग्नुहुन्छ' उनले दाबी गरे। तर शशांकस्रोतले यसको पुष्टि गरेन। 

मंसिर २७, २०७८ सोमबार ०२:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।