लुप्त हुँदैछ कांग्रेसको स्वतन्त्र पहिचान

नेपाली कांग्रेस सुदृढ होस्, योसँग हाम्रो स्वस्थ प्रतिस्पर्धा होस् भन्ने चाहन्छौं हामी। तर पछिल्लो समय नेपाली कांग्रेस अलि आफ्नो पथबाट बिचलित भएको जस्तो लाग्छ।
कुनै बेला दुई तिहाइ बहुमत ल्याएको पार्टी, २०४६ को आन्दोलनपछि पनि दुई पटकसम्म बहुमतको सरकार चलाएको पार्टी अहिले गठबन्धनको एउटा अंगको रुपमा झण्डै-झण्डै हराएको अवस्था छ। उसको आफ्नो स्वतन्त्र पहिचान करिब-करिब लुप्त भएको अवस्था छ।
गठबन्धनका पार्टीहरु अनेकौं खालका कुराहरु गर्छन्, जो नेपालको लोकतान्त्रिक आन्दोलनसँग, लोकतन्त्रको चरित्रसँग मेल खाँदैनन्। नेपाली कांग्रेस त्यसको बारेमा प्रतिक्रिया दिनसक्ने अवस्थामा पनि देखिएको छैन। सत्ताप्रतिको मोहले होला उसलाई एक किसिमले आफ्नै आदर्शबाट अलिकति चाहिँ विचलित बनाउँदै लगेको देखिन्छ। यो राम्रो लक्षण होइन।
उदाहरणका निम्ति गठबन्धनका एक जना नेता भन्नुहुन्छ, अर्को जनविद्रोह गर्छौं। यसमा कांग्रेस कुनै प्रतिक्रिया दिँदैन। अर्कोले भन्नुहुन्छ, सात वटा प्रदेशले पुग्दैन, कम्तीमा ११ वा १४ वटा प्रदेश बनाउनुपर्छ। यो संविधान संशोधन भएन भने संविधान हामी भत्काउँछौं। यसमा पनि कांग्रेस कुनै प्रतिक्रिया दिँदैन।
कांग्रेसको आफ्नो स्वतन्त्र पहिचान नै त्यो भीडमा हराएको जस्तो देख्छौं हामी। कांग्रेस त्यस्तो थिएन जमानामा। कांग्रेस किन यति कमजोर र निरीह बन्न पुग्यो होला भन्ने पनि लाग्छ।
देशको पुरानो प्रजातान्त्रिक पार्टी, जसले परिवर्तनका लागि सकारात्मक योगदान गरेको छ। ऊ कमजोर हुनु भनेको प्रकारान्तरले प्रजातन्त्र कमजोर हुनु हो। लोकतन्त्र कमजोर हुनु हो। हामी चाहन्छौं, कांग्रेस आफ्नो पहिचानसहित आफ्नै खुट्टामा उभियोस्। आफ्नो प्रजातान्त्रिक पहिचान कायम राख्न सकोस्।
नेपाली कांग्रेस खासगरी मुलुकको सामाजिक-आर्थिक रुपान्तरणको एजेन्डामा अनुदार जस्तो देखिएको छ। राजनीतिक प्रणालीमा त ऊ प्रजातान्त्रिक चरित्र राख्छ। राजनीतिक परिवर्तनका लागि सक्रिय पनि रहेको हो।
तर, राजनीतिक परिवर्तन मात्रै पर्याप्त हुँदैन। मुलुकमा यदि सामाजिक, आर्थिक परिवर्तन भएन, रुपान्तरण भएन, जनताले प्रजातन्त्रको लाभ पाएनन् भने त्यो प्रजातन्त्र टिक्दैन पनि। त्यो एजेन्डामा पनि ऊ सकारात्मक भएर आओस् भन्ने हाम्रो अपेक्षा छ।
कांग्रेससँग हाम्रा यावत् मतभिन्नता छन्। ती मतभिन्नता स्वस्थ प्रतिष्पर्धाको माध्यमबाट त्यसलाई अगाडि बढाउन सकिन्छ। तर कांग्रेस कमजोर हुँदा देशलाई राम्रो हुँदैन।
उदारवादको नाममा कांग्रेसले नवउदारवादलाई अवलम्बन गर्यो २०४८ सालपछि। त्यसको परिणाम के भयो भने नेपालको सार्वजनिक क्षेत्र एकदमै कमजोर भयो।
यातायातको क्षेत्रमा, उद्योगको क्षेत्रमा, सेवाको क्षेत्रमा जुन सार्वजनिक पुँजी जम्मा भएको थियो, त्यो सबै निजीकरणको नाममा व्यापारीहरुको हातमा गयो। त्यसले राज्य एकदमै कमजोर भएको छ।
जस्तैः यातायातको क्षेत्रमा जबरजस्त सिन्डिकेट छ। राज्यसँग एउटा कुनै हतियार छैन, यातायास सम्बन्धी आफ्नो। ताकी निजी क्षेत्रले बदमासी गर्दा, उनीहरुले अनुचित नाफा कमाउँदा, राज्यको कुनै यातायातको सेक्टर भएको भए त उसले ती यातायातका साधनमार्फत जनतालाई सेवा दिन सक्थ्यो नि।
हिजो साझालाई, ट्रली बसलाई भत्काउने काम नेपाली कांग्रेसको पालामा भयो। ऊ के कुराबाट गयो भने सरकारले उद्योग धन्दा चलाउनु हुँदैन। सबै प्राइभेट सेक्टरलाई दिनुपर्छ। त्यसले गर्दा देशका धेरै महत्वपूर्ण उद्योगधन्दा कोल्याप्स भए। तिनीहरुलाई निजीकरणको नाममा सस्तोमा बेचियो।
त्यसैले उसको उदार अर्थतन्त्र आफ्नो ठाउँमा ठिकै हो। तर उदार अर्थतन्त्रभन्दा पनि कांग्रेसले अवलम्बन गरेको चाहिँ नवउदारीकरण हो। नव उदारवाद हो। जसले सबै कुरा बजारको हातमा छाडिदिन्छ। राज्यलाई गैरजिम्मेवार बनाउँछ। राज्यको भूमिकालाई कटौती गर्छ। त्यो बाटोबाट कुनै पनि मुलुकबाट लोक कल्याणकारी राज्य पनि बन्दैन, समाजवाद उन्मुख राज्य त धेरै टाढाको कुरा भयो।
आज पनि नेपाली कांग्रेससँग सार्वजनिक क्षेत्रलाई कसरी बलियो बनाउने भन्ने बारेमा कुनै पनि नीति छैन।
सामाजिक, आर्थिक रुपान्तरणलाई तीव्रता दिएर जनतालाई बलियो बनाउने कुरामा कांग्रेसका नीतिहरु छैनन्। सबै कुराहरु बजारको हातमा छोडिदिनुपर्छ भन्छ। त्यसले जो शक्तिशाली छन् उनीहरुलाई त फाइदा हुन्छ। तर निरीह तथा राज्यका पहुँचभन्दा टाढाकालाई त राज्यले प्रोटेक्सन दिने हो नि। त्यो चाहिँ उसले गर्न सकिरहेको अवस्था छैन।
निजी क्षेत्र बलिायो हुन जरुरी छ। तर सरकारका उद्योग धन्दा कौडीको मोलमा बेचेर निजी क्षेत्रलाई दिएर चाहिँ देशको औधोगिकीकरण हुँदैन। निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्यो। तर राज्यले पनि खासखास क्षेत्रमा त हात हाल्नु पर्यो।
निजी क्षेत्रको चाहना भनेको त मुनाफा कमाउनु हो। तर राज्यले खाली मुनाफा कमाएर हुँदैन। कयौं ठाउँमा उसले लगानी गर्नुपर्ने हुन्छ, सर्वसाधरण नागरिकको निमित्त। यो कुरामा कांग्रेसको नीति प्रष्ट देखिँदैन।
राष्ट्रियताको मामलामा नेपाली कांग्रेस पटकपटक चुक्दै आएको छ। जब राष्ट्रियताका मुद्दाहरु आउँछन्, त्यतिबेला किन-किन उसको आवाज नै बन्द भएजस्तो, केही कुरामा कतै केही चुकेर राष्ट्रियताको हितमा बोल्न नसकेको जस्तो देखिन्छ। नेपाली कांग्रेस सत्तामा हुँदा पटकपटक राष्ट्रिय हितमाथि आँच पुग्ने काम भएको छ। त्यसले गर्दा राष्ट्रियताको मामलामा कांग्रेसको अडान कमजोर र फितलो देख्छौं हामी।
(एमाले उपमहासचिव ज्ञवालीसँग उकेराकर्मी उपेन्द्र खड्काले गरेको कुराकानीमा आधारित।)
मंसिर २६, २०७८ आइतबार ०७:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।