देउवा समूहले सह-महामन्त्रीका उम्मेदवार टुङ्ग्यायो, उपसभापति र महामन्त्रीमा छलफल जारी

काठमाडौँ : शेरबहादुर देउवा समूहले पदाधिकारीमध्ये सह महामन्त्रीका उम्मेदवार टुङ्ग्याएको छ। बालुवाटारमा जारी बैठकले उपसभापति र महामन्त्री अझै टुङ्ग्याउन सकेको छैन।
एक नेताका अनुसार सह-महामन्त्रीहरुमा आदिवासी जनजातिबाट भीष्मराज आङदेम्बे, दलितबाट मान बहादुर बिक, महिलाबाट डिना उपाध्याय, मधेसीबाट महेन्द्र यादव, खस आर्यबाट किशोर सिंह राठौर, थारुबाट उमाकान्त चौधरी, मुस्लिमबाट फरमुल्लाह मन्सुर र पिछडिएको क्षेत्रबाट जीवन शाहीको नाम टुङ्गिएको छ।
देउवा समूहले केन्द्रीय सदस्यहरूको नाम पनि टुङ्गो लगाएको छ। महामन्त्रीमा डा प्रकाशशरण महत र कृष्ण सिटौला समूहबाट प्रदीप पौडेलको नाम रहे पनि निर्णय भइसकेको छैन। उपसभापतिमा आधा दर्जन बढी उम्मेदवार आकाङ्क्षी छन्।
समूह व्यवस्थापन गर्न नसके देउवा समूहमा समेत विद्रोहको जोखिम छ। बालकृष्ण खाँण, एनपी साउद, रमेश लेखक र ज्ञानेन्द्र कार्कीले महामन्त्रीमा दाबी गरिरहेका छन्। उपसभापतिमा पूर्ण बहादुर खड्का, विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठले दाबी गरिरहेका छन्।
मंसिर २५, २०७८ शनिबार १५:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।