प्रकाशमानलाई समर्थन गर्दै सुजाताले भनिन्' हेरौँ न त नयाँ नेतृत्व कस्तो हुने रहेछ'

काठमाडौँ : १३ औँ महाधिवेशनमा गुमेको कोइराला परिवारको नेतृत्व १४ औँ महाधिवेशनमा फर्काउनुपर्ने पक्षमा रहेकी सुजाता कोइरालाले शेखर कोइरालाको साथ छाडेर प्रकाशमान सिंहलाई समर्थन गरेकी छिन्।
शशाङ्क र शेखरमध्ये एक जनालाई सभापति बनाउन प्रयासरत रहेकी उनी एकाएक प्रकाशमानको टिमको उपसभापतिमा बस्दै सभापतिमा सिंहलाई साथ दिएकी हुन्। शेखरले समेत सभापतिमा उम्मेदवारी दिँदै छन्। तर उनी शेखरको समूहमा बसिनन्। अकस्मात् शनिवार उनी प्रकाशमानको समूहमा खुलिन्।
प्रकाशमानको समूहको घोषणा सभामा बोल्दै उनले प्रकाशमानको नेतृत्वमा बनेको समूहले देशभरिको प्रतिनिधित्व गर्ने भएकाले आफूले उनलाई साथ दिएको बताइन्।
'प्रकाशमानजी आफैँ पनि जनजाति हुनुहुन्छ। म महिला छु। अब आउने चुनावमा काँग्रेसलाई जिताउन अनि अब आउने निर्वाचनमा नयाँ अनुहार र नयाँ विचार दिन प्रकाशमानलाई साथ दिएको हुँ।'
उनले धेरैले काँग्रेस पार्टी र यसका नेता बुढो भयो भनेर आलोचना गर्ने गरेको भन्दै अब नयाँ नेतृत्वको पक्षमा जानुपर्ने बताइन्। आफू पनि सभापतिको उम्मेदवार बन्ने तयारी गरेको र कुन उम्मेदवारले के सोच ल्याउँछन् भनेर हेरेर बसेको भन्दै उनले प्रकाशमानको सोच ठिक लागेकाले उपसभापतिमा राजी भएको बताइन्।
उनले भनिन्' एक चोटि नयाँ नेतृत्वलाई पनि हेरौँ न। कस्तो हुने रहेछ।'
मंसिर २५, २०७८ शनिबार १४:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।