माओवादी केन्द्र सुदूरपश्चिम सम्मेलन सुरु,यी हुन् अध्यक्षका आकांक्षी

धनगढी: नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलन आजदेखि धनगढीमा सुरु भएको छ। सम्मेलनको उद्घाटन भर्चुअल माध्यमबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नेछन्।
दुई दिनसम्म सञ्चालन हुने सम्मेलनबाट ९ पदाधिकारीसहित २ सय २३ जनाको प्रदेश कमिटी चयन गरिने माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले बताए। उनका अनुसार एक अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, तीन सहसचिव र कोषाध्यक्ष गरी नौ जना पदाधिकारीसहित २ सय २३ सदस्यीय प्रदेश कमिटी चयन र तीमध्ये १० प्रतिशत भने मनोनित हुनेछन्।
‘सहमतिबाटै नेतृत्व चयन गर्ने हाम्रो प्रयास छ। सहमति जुट्न नसके चुनाव मार्फत नेतृत्व चयन गर्छौं,’ प्रदेश इन्चार्ज भट्टले भने, 'प्रदेश अध्यक्षमा आधा दर्जन नेताले दावी गरेका छन्। सहमतिका लागि छलफल भइरहेको छ।’
भट्टले दिएको जानकारीअनुसार अध्यक्ष पदका लागी कैलालीका वीरमान चौधरी, पार्टीको प्रदेश समिति सचिव रहेका नेपबहादुर चौधरी,राष्ट्रिय सभा सदस्य हरिप्रसाद चौधरी ‘उत्सव’, हरि ज्ञवाली ‘अखण्ड’, बैतडीका नरेन्द्र कुँवर र अछामका शरदसिंह भण्डारी दौडधुपमा छन्।
मंसिर २५, २०७८ शनिबार १३:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।