कांग्रेस महाधिवेशन: जेठो पार्टीको पुरानै ढर्रा

काठमाडौंः देशकै जेठो पार्टी नेपाली कांग्रेसले आफ्नो १४औं महाधिवेशनमा कागजी मतपत्रमै मतदान गर्ने भएको छ। हिजोबाट सुरु भएको महाधिवेशनमा आजबाट निर्वाचन प्रक्रिया सुरु भएको छ भने मतदान प्रक्रिया २७ गते बिहान ८ बजेबाट सुरु हुनेछ।
मतदान भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा हुने जनाइएको छ। मतदानमा २९ किसिमका मतपत्र हुनेछन् भने उम्मेदवारको संख्या र पदअनुसारका आकार र रङका मतपत्रको व्यवस्था गरिनेछ।
यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो १०औं राष्ट्रिय महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरेको थियो। लगत्तै भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनमा पनि अध्यक्षबाहेकको पदमा विद्युतीय भोटिङ मेसिनकै प्रयोग गरिएको थियो।
तर देशकै जेठो पार्टीले भने प्रविधिलाई विश्वास गर्न अनकनायो। महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने बारेमा छलफल भए पनि अन्ततः कागजकै मतपत्रमा मतदान हुने भएको छ।
हालसम्म कांग्रेसको नयाँ नेतृत्त्वका लागि निवर्तमान सभापति शेरबहादुर देउवासहित, प्रकाशमान सिंह, रामचन्द्र पौडेल, विमलेन्द्र निधि र शेखर कोइराला दौडमा देखिएका छन्। आज १० बजेबाट उम्मेदवारी मनोनयन दर्ता सुरु भइसकेको छ।
कांग्रेसको १४औं महाधिवेशनले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री चयन गर्नेछ।
मंसिर २५, २०७८ शनिबार १०:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।