सिटौलाले गगनसँग समूह छाडेको बदला लिँदै प्रदीपलाई बनाए देउवाको महामन्त्री उम्मेदवार

काठमाडौँ : १३ औँ महाधिवेशनमा आफ्नो प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका गगन थापाले १४ औँ महाधिवेशनमा समूह छाडेर संस्थापनइतरतिर लागेको बदला लिन कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले आफ्नो समूहबाट प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाउने भएका छन्।
उनले संस्थापन समूहका सभापतिका उम्मेदवार शेरबहादुर देउवालाई सघाउने सर्तको रूपमा पौडेललाई देउवा समूहबाट महामन्त्रीको उम्मेदवार बनाउन राजी गराएका हुन्। उनी यो महाधिवेशनमा कुनै पदमा नउठी गगन थापा जुन पदमा उठ्छन् त्यही पदमा पौडेललाई उठाउन लागेका हुन्।
स्रोतका अनुसार सिटौला र देउवाबिच महामन्त्रीको विषयमा टुङ्गो लागिसकेको छ भने सिटौला समूहबाटै सह महामन्त्रीमा उमाकान्त चौधरी उम्मेदवार बन्दै छन्। देउवाले सिटौला प्यानलको उम्मेदवार टुङ्ग्याए पनि आफ्नो समूहको उम्मेदवार भने टुङ्ग्याउन सकेका छैनन्।
यता सभापतिको एकल उम्मेदवारमा सहमति जुटाउन बसेको संस्थापनइतर समूह सहमतिबिनै तितरबितर भएको छ। आफ्नो नाममा सहमति हुने नदेखेपछि प्रकाशमान सिंह बैठक छाडेर हिँडिसकेका छन्। रामचन्द्र पौडेल पनि बाहिरिइसके। सभापतिका प्रत्याशी शेखर कोइराला पनि बैठक स्थलबाट बाहिरिएकाले आज संस्थापनइतरबाट सभापतिको साझा उम्मेदवार चयन हुने सम्भावना टरेको छ।
सभापतिमा संस्थापन समूहबाट देउवा उम्मेदवार हुने पक्का छ। उनकै समूहमा रहेका बिमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिने तयारी गरेका छन्। शशाङ्क कोइराला ब्याक भएको र पौडेलले सहमति नभए उम्मेदवारी नदिने बताएकाले १४ औँ महाधिवेशनमा संस्थापनइतरबाट सिंह र शेखर सभापतिको उम्मेदवार बन्ने देखिन्छ।
यता सभापतिको उम्मेदवार नटुङ्गिँदा उपसभापति, महामन्त्री लगायतका पदका उम्मेदवारको नाम समेत तय हुन सकेको छैन। महामन्त्रीमा थापा र मिनेन्द्र रिजालले दाबी गरिरहेका छन्।
मंसिर २४, २०७८ शुक्रबार २३:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।