भूपेन्द्रको हत्याका ९ आरोपी जेल गए, तीन जना धरौटीमा छुटे

धनगढी : भूपेन्द्र बडुवालको हत्या आरोपमा पक्राउ परेकामध्ये ९ जनालाई अदालतले पुर्पक्षका लागि कारागार पठाएको छ। पक्राउ परेकामध्ये ३ जना भने धरौटीमा छुटेका छन्।
कैलालीको लम्कीचुहा नगरपालिका–३ का बडुवालको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको थियो। शुक्रवार जिल्ला अदालत कैलालीमा थुनछेकको बहस भएको थियो।
अदालतको आदेशपछि लम्कीचुहा नगरपालिका–३ का २३ वर्षीय महेश रावल, २० वर्षीय धिरज भन्ने दीपेन्द्र शाही, २० वर्षीय आर्यन देवकोटा, १९ वर्षीय मदन शाही, लम्कीचुहा–१ का २२ वर्षीय कपिल श्रेष्ठ, १८ वर्षीय निशान्त मल्ल, टीकापुर नगरपालिका–१ का २३ वर्षीय प्रवीण रिमाल, बर्दियाको राजापुर नगरपालिका–७ घर भएर टीकापुर नगरपालिका–१ बस्ने २१ वर्षीय रोहित आले र टीकापुरकै २५ वर्षीय सोहन शाहलाई कारागार पठाइएको छ।
मुद्दाको अन्तिम किनारा नलागेसम्म पुर्पक्षका लागि जेल गएकाहरू जेलमै रहनेछन्। उनीहरूले अदालतको सो आदेश विरुद्ध उच्च अदालतमा पुनरावेदन भने गर्न पाउनेछन्।
लम्कीचुहाका २८ वर्षीय विकास खड्का, बर्दगोरिया गाउँपालिका–२ का लोकेन्द्र कुँवर र बर्दियाको ठाकुरबाबा नगपालिका–३ का २ सन्तोष भन्ने सविनजंग शाही भने धरौटीमा छुटेका छन्। यी तीन जनामाथि मतियारको अभियोग थियो। बडुवाल हत्याका ९ जना आरोपी फरार छन्।
कात्तिक २३ गते टीकापुरमा धारिलो हतियारले हानेर बडुवालको हत्या भएको थियो। प्रहरी अनुसन्धानमा २१ जना मिलेर उनको हत्या गरेको र काठमाडौँमा भएको आक्रमणको बदला लिन उनको हत्या गरेको देखिएको थियो।
मंसिर २४, २०७८ शुक्रबार २२:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।