माओवादीको प्रदेश सम्मेलन शनिबार, प्रचण्डले भर्चुअल उद्घाटन गर्ने 

माओवादीको प्रदेश सम्मेलन शनिबार, प्रचण्डले भर्चुअल उद्घाटन गर्ने 

काठमाडौँ : नेकपा माओवादी केन्द्रको प्रदेश सम्मेलन शनिबार हुँदै छ। सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशमा सम्मेलन हुन लागेको माओवादी केन्द्रले जनाएको छ। 

अधिवेशनको शनिबार दिउँसो १ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम छ। माओवादीले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गठन गरेको छ। 

प्रदेश नम्बर १ को विराटनगर, प्रदेश नम्बर २ को जनकपुर, वाग्मतीको काठमाडौँ, गण्डकीको पोखरा, लुम्बिनीको भालुवाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्मेलन हुनेछ। प्रवास समितिको सम्मेलन शनिबार नहुने र छिट्टै सम्पन्न हुने माओवादी केन्द्रले जनाएको छ। 

माओवादीको प्रदेश सम्मेलनबाट नौ पदाधिकारीसहितको समिति चयन हुनेछ। प्रदेश समिति एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी हुनेछन्। 

प्रदेशमा नम्बर १ मा २५९, २ नम्बर प्रदेशमा २७१, वाग्मतीमा २७५, गण्डकीमा २२९, लुम्बिनीमा २५३, कर्णालीमा २११ र सुदूरपश्चिम प्रदेशमा २२३ सदस्यीय समिति हुनेछ । विशेष, सम्पर्क र प्रवास समिति न्यूनतम १७५ सदस्यीय हुनेछन्। 

माओवादीको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ गतेसम्म काठमाडौँमा हुँदै छ। 

मंसिर २४, २०७८ शुक्रबार २२:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।