आफ्नो पक्षमा नारा लागेपछि देउवाले भने, प्लिज भयो भयो...

आफ्नो पक्षमा नारा लागेपछि देउवाले भने, प्लिज भयो भयो...

काठमाडौँ :  पार्टी महाधिवेशनको उद्घाटन समारोहको समापन गर्दै नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आउँदो चुनावपछि कांग्रेस नेतृत्वको सरकार बनाउनु जिम्मा आफूले लिने दाबी गर्दै महाधिवेशन प्रतिनिधीहरुसँग भोट मागे। 

पार्टीको १४ औँ महाधिवेशनको उद्घाटन शत्र समापन गर्न माइक अगाडि आएका उनले गाउँदेखि केन्द्रसम्म आउँदो सरकार कांग्रेसको हुने दाबी गर्दै भने ‘गाउँदेखि केन्द्रसम्म कांग्रेसको सरकार बन्छ। त्यो मेरो जिम्मा भयो।’ 

अहिले धेरै भन्ने कुरा छैन भन्दै गरेका देउवाको पक्षमा नारा लाग्न थाल्यो। उनी केहीबेर बोल्न रोकिएर आफ्नो पक्षमा लागेको जिन्दावादको नारा सुनिरहे। अली चर्कदै गएपछि भने 'भयो, प्लिज भयो' भन्दै हात हल्लाएर नारा लगाउनेहरुलाई रोक्न खोजे।

उनले आन्तरिक निर्वाचनले स्थानीय निर्वाचन र राष्ट्रिय निर्वाचनमा कुनै किसिमको समस्या आउन नहुने बताएका थिए। स्थानीय सरकार कांग्रेसको भए राष्ट्रिय सरकार पनि कांग्रेसको हुने भन्दै उनले हात जोड्दै भने' एक पटक सभापतिमा जिताइदिनुहोला। कुनै पनि हालतमा डर त्रासबाट मुक्त शासन ल्याएरै छाड्ने छु।'

देउवा अगाडि बोलेका वरिष्ठ नेता रामचन्द्र पौडेलले सामान्य मान्छेले न्याय पाउने नेपाल बनाउन सक्नुपर्ने बताएका थिए। पौडेलले अहिले निमुखाको न्याय र विपन्नको आय हराएको बताएका थिए। उनले कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउन आन्तरिक लोकतन्त्रको विकास गर्नु जरुरी रहेको समेत बताएका थिए। समयमै पार्टीको महाधिवेशन हुन नसकेकोमा पौडेलले असन्तुष्टि जनाए।

‘देशको परिस्थितिका बारेमा गम्भीर छलफल गर्नुपर्ने थियो, समयमा अधिवेशन गर्न सकेनौ,’पौडेलले भने,‘हडबडमा अधिवेशन गर्नु परेको छ, विधि पुर्याउने कामका लागि मात्रै अधिवेशन भएको छ।’ 

उनले नेपालको राजनीति गतिहीन अवस्थामा रहेको बताए। ‘संसद् चल्न सकेको छैन, सरकार गतिहीन अवस्थामा छ,’पौडेलले भने,‘परिवर्तन अनुसार अगाडि बढ्न सक्यौ कि सकेनौ, छातीमा हात राखेर आफ्नै मूल्याङ्कन गर्नु पर्छ।’ 

पौडेलले पैसाबाट चुनाव जित्ने परम्पराको अन्त्य हुनुपर्ने बताएका थिए। उनले राजनीतिक क्षेत्रबाट भ्रष्टाचार अन्त्य हुनुपर्ने समेत बताए। 

कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आगामी निर्वाचनमा कांग्रेसलाई विजयी गराएर सबै तहमा एकमना सरकार बनाउनु पर्ने बताए। पार्टीको १४ औँ महाधिवेशनको उद्घाटन सत्रमा निधिले आगामी निर्वाचनपछि सबै तहमा कांग्रेसको एकमना सरकार बनाउनु पर्ने बताएका थिए। 

उनले अहिले बैसाखी टेकेर सरकार निर्माण भएको बताउँदै संविधानको सफल कार्यान्वयन गर्नु कांग्रेसको जिम्मेवारी रहेको बताए।  

मंसिर २४, २०७८ शुक्रबार १८:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।