कांग्रेस महाधिवेशनको मेनु : प्रतिव्यक्ति दैनिक १२ सय, २८ किलो मासु

कांग्रेस महाधिवेशनको मेनु : प्रतिव्यक्ति दैनिक १२ सय, २८ किलो मासु

काठमाडौँ : नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधि खानामा २ करोड खर्च गर्दै छ। उसले २ छाक खाना र खाजामा प्रति प्लेट १ हजार २ सयमा अनुपम फूडल्याण्ड र दियालो पार्टी प्यालेसलाई जिम्मेवारी दिएको हो।

एक छाकमा १४ सय केजी कुखुरा, १४ सय केजी खसी र माछा राखिएको छ। अनुपमका डाइरेक्टर माधव रिजालका अनुसार कांग्रेसले महाधिवेशनका सहभागीलाई खाना खुवाउन टेन्डर आव्हान गरेको थियो। टेन्डर हालेर सो जिम्मेवारी पाएको उनले बताए।

दैनिक रूपमा ब्रेकफास्ट, लन्च र डिनरको व्यवस्था गरिएको जानकारी दिँदै उनले खाजामा ब्रेड, पुरी र हलुवा लगायत राखेको र खानामा दाल, रोटी, भात, सागसँगै खसी, कुखुरा र माछाको मासु राखिएको बताए।

दैनिक १८ हजार जनाले खाना खाने उनको अनुमान छ। आयोजकले कुपनको व्यवस्था गरेको र त्यसैको आधारमा आफूहरूले खाना दिने उनले जानकारी गराए।

'जतिले खाना खानु भएको छ मिठो छ भन्ने प्रतिक्रिया पाएका छौँ। उहाँहरू सन्तुष्ट हुनुहुन्छ भन्ने आशा छ,' उनले भने।

मंसिर २४, २०७८ शुक्रबार १८:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।