कुनै पदमा उम्मेदवारी नदिने कांग्रेसकी कोषाध्यक्ष यादवको घोषणा
काठमाडौँ : नेपाली कांग्रेसकी कोषाध्यक्ष सितादेवी यादवले पार्टीको कुनै पदमा उम्मेदवारी नदिने बताएकी छन्। कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन सत्रमा कोषाध्यक्ष यादवले कांग्रेस र जनताको सेवामा लाग्ने भन्दै कुनै पदमा उम्मेदवारी नदिने घोषणा गरेकी हुन्।
उनले कांग्रेसको यो महाधिवेशन एकताका महाधिवेशन बन्नु पर्ने बताइन। ‘यो एकताको महाधिवेशन बन्नु पर्छ,’उनले भनिन्,‘कसैलाई काखा र कसैलाई पाखा नगरौँ।’
उनले आफूले पाएको जिम्मेवारी अनुसार पार्टीको कोषलाई सोचे अनुसार पारदर्शी र व्यवस्थित बनाउन नसकेको बताइन।
उनले नेताहरूको मर्यादा अनुसार पार्टीको कोष व्यवस्थित नै गरेको सुनाइन्। कांग्रेसको फिक्स डिपोजिट कोषमा १० करोड रुपैयाँ रहेको र चल्ती खातामा २ देखि ३ करोड रुपैयाँ रहेको जानकारी पनि दिइन।
मंसिर २४, २०७८ शुक्रबार १७:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।