ओलीको भाषण नसुनी हिँडे माधव नेपाल, ओलीले लिङदेनलाई भने' नयाँ बाछो' 

ओलीको भाषण नसुनी हिँडे माधव नेपाल, ओलीले लिङदेनलाई भने' नयाँ बाछो' 

काठमाडौँ : कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन शत्रमा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू कसैसँग वाद-प्रतिवाद गर्न नआएको भन्दै उनले देश बनाउन एमाले कांग्रेसको साथमा रहेको बताएका छन्।

उनले सम्बोधनका क्रममा कांग्रेस सभापति शेरबहादुर देउवालाई ' मेरा पुराना मित्र शेरबहादुर देउवाज्यू' भनेर सम्बोधन गरेका थिए भने मञ्चमा रहेका अन्य दलका नेताहरूलाई' विभिन्न दलबाट शुभकामना दिन आउनुभएका नेताज्युहरु' भनेका थिए।

उनले बोल्दा माधव नेपाल, उपेन्द्र यादव, महन्थ ठाकुर अनि राजेन्द्र लिङदेन हिँडिसकेका थिए। उनले सम्बोधनको क्रममा राष्ट्रिय कांग्रेसको भनेका थिए। पछि सच्याउँदै नेपाली कांग्रेस भने।

ओलीले कांग्रेस परिवर्तनको इतिहास बोकेको पार्टी भएको भन्दै प्रशंसा गर्दै भने 'कांग्रेसले राजनीतिक र सामाजिक परिवर्तन गरेको छ।  आगामी दिनमा अझ उज्यालो हुने गरी महाधिवेशनले अगाडि बढाउने आशा छ।'

उनले कार्यक्रमका सभापति देउवाजी अझैँ बोल्न बाँकी रहेको भन्दै उनले भने' म धेरै बोल्न चाहन्न। देउवाजीको पालो घाम अस्ताउनुभन्दा अगाडि नै आओस् भन्ने चाहन्छु।'

उनले राष्ट्रियता, लोकतन्त्र, विकास र न्यायको प्रश्नमा सहकार्य गर्न एमाले सधैँ तयार रहेको बताउँदै 'हरेक नेता चोर हुन्छ' भन्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको भनाइप्रति ब्यङग्य गर्दै भने' भर्खर अध्यक्ष छानिएको रापताप होला केही साथीहरूलाई। भर्खरको बाछो हिँड्न जाँदैन। बढी कुद्छ।'

राजनीति आफ्नो स्वार्थको रोटी सेक्न प्रयोग गर्न नहुने उनले बताए। उनले घोचपेच गर्दिन भने पनि माओवादी केन्द्र र एकीकृत समाजवादीलाई छेड हान्न छाडेनन्। सँगै हिँड्नुपर्ने भन्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको सम्बोधनप्रति लक्षित गर्दै उनले भने' केही साना दललाई कांग्रेसले औँला दिएन भने के हुन्छ भन्ने चिन्ता छ। हामी प्रतिपक्षमा छौँ तर देश बनाउन साथमै छौँ।'

उनले भने'सरकारबाट हट्नुपर्ला कि भनेर कतिपयलाई चिन्ता होला। एमाले एक्लै हिँड्नुपर्ला भनेर डराउँदैन।'

मंसिर २४, २०७८ शुक्रबार १६:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।