माधव नेपाल बोल्न जाँदा पछाडिबाट हेर्दै हाँसे ओली

माधव नेपाल बोल्न जाँदा पछाडिबाट हेर्दै हाँसे ओली

काठमाडौँ : पार्टी विभाजनपछि पहिलो पटक एकै मञ्चमा सहभागी छन् एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र एमाले नेता केपी शर्मा ओली। कांग्रेसको १४ औँ महाधिवेशनमा शुभकामना दिन उनीहरू भिन्न-भिन्न दलको अध्यक्षको रूपमा महाधिवेशनमा सहभागी छन्।

कार्यक्रमका उद्घोषक विश्वप्रकाश शर्माले शुभकामना दिने क्रममा भन्दै नेपाललाई बोलाए। उनी ओलीको दाहिनेतिर बसेका थिए। बोल्न ओलीको अगाडिबाटै जानुपर्ने थियो। नेपाल उठेर ओलीतिर हेर्दै सम्बोधन गर्न पोडियमतिर गए। ओलीले उनीतिर हेरेनन्। जब नेपालले ओली बसेको स्थान क्रस गरे उनले पछाडिबाट हेरेर मज्जाले हाँसे।

शुभकामना दिँदै नेपालले नेपालको राजनीतिमा राम्रो सङ्केत नदेखिएको भन्दै कालो बादल मडारिएको बताए। उनले भने'प्रतिगामी तत्त्वहरूलाई म भन्न चाहन्छु। फेरी शिर उठाउने दुस्साहस नगर्नुस्।'

उनले अब नेपालमा राजतन्त्रको कुनै सम्भावना नभएको र कुनै भविष्य नभएको भन्दै बरु राजाले एउटा पार्टी खोले वा व्यापार गरे हुन्छ भन्ने शुभकामना दिए।

उनले मैमत्त गर्ने, अरूको सम्मान नगर्ने र मर्यादा नगर्ने प्रवृत्तिबाट लोकतन्त्र खतरामा रहेको बताएका थिए। उनले सम्बोधन गर्दै जाँदा नेपाललाई संवृद्ध नेपाल र सुखी नेपाली बनाउनुपर्ने बताए। यो ओलीको नारा थियो।

मंसिर २४, २०७८ शुक्रबार १६:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।