वीजेपी नेता हर्षवर्धनले भने : यति धेरै पूर्वप्रधानमन्त्री एकै मञ्चमा पहिलो पटक देखें
काठमाडौँ : भारतीय जनता पार्टीका नेता डा.हर्षवर्धनले एकै मञ्चमा यति धेरै पूर्व प्रधानमन्त्रीहरू पहिलो पटक देखेको बताए। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा शुभकामना दिन आएका उनले भिन्न-भिन्न दलका नेताहरू यसरी एकै मञ्चमा बसेर शुभकामना दिन आएको दृश्य पनि आफ्नो लागि पहिलो भएको बताए।
उनले विचारधारा फरक-फरक भएर पनि नेपालका राजनीतिक दलका नेताहरूको सम्बन्ध उदाहरणीय रहेको भन्दै उनले भने' एमालेको महाधिवेशनमा शुभकामना दिनका लागि नेपालका प्रधानमन्त्री ३-४ घण्टा मञ्चमा बसेको देख्दा खुसी लाग्यो। राजनीति गर्न ठुलो मन चाहिन्छ। त्यो मन नेपाली नेताहरूसँग छ।'
उनले नेपाल र भारतको सम्बन्ध विशेष प्रकारको रहेको बताउँदै नेपालसँगको सम्बन्धलाई बलियो बनाउन भारत सधैँ तयार रहेको र कुनै समस्या भए वार्ताको माध्यमबाट समस्या समाधान गर्न तयार रहेको बताए। उनले कांग्रेस नेता प्रकाशशरण महतको भारत भ्रमणको प्रसङ्ग उल्लेख गर्दै कुनै समस्या भए छलफलबाट समाधान गर्न आग्रह गरे।
उनले नेपालमा पशुपतिनाथको मन्दिर हुनु र हिमालय हुनु भाग्यको कुरा भएको भन्दै नेपाल सम्बृद्दहुँदै जाओस् भन्दै शुभकामना दिएका थिए।
मंसिर २४, २०७८ शुक्रबार १५:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।