कांग्रेस महाधिवेशनमा यसरी हुनेछ ट्राफिक व्यवस्थापन

काठमाडौंः आजबाट सुरु नेपाली कांग्रेसको १४औं महाधिवेशनमा हुनसक्ने सवारी चापलाई मध्यनजर गरी महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापनमा आवश्यक व्यवस्था मिलाएको छ। महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले रुट व्यवस्थापनका लागि ट्रााफिक मात्रै ३५० बढी परिचालन गरिएको बताएका छन्।
यस्तै आज उपस्थिति र सवारीको चाप हेरेर आवश्यकतानुसार सवारी रुटको डाइभर्सन हुनेछ। कार्यक्रमस्थलमा सवारी जाम नहोस् भनेर प्रहरीले पद्मोदय मोड, कमलादी मोड, सभागृहमोड, सिंहदरबार चोक र माइतीघरबाट ट्राफिक डाइभर्सन गरेको छ।
टुँडिखेल वरपर अत्यधिक सवारी साधनको चाप भएमा त्रिपुरेश्वर चोक, बालाजु चोक, नारायणगोपाल, कलङ्की, बल्खु, जावलाखेल, तीनकुने र गौशाला चोकबाट नै डाइभर्सन गर्ने गरी सुरक्षा योजना बनाइएको छ। महाशाखाले झण्डावाला, पार्टीका शीर्ष नेताहरू र विदेशी पर्यवेक्षकका सवारी साधनका लागि भृकुटीमण्डपको सभाहल पछाडि पार्किङको व्यवस्था मिलाएको छ।
अन्य सम्भावित क्षेत्र र आवश्यकता हेरी ट्राफिक परिचालन गरिने महाशाखाले जनाएको छ। नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन आज दिउँसो १ बजे भृकुटीमण्डपमा हुँदैछ।
मंसिर २४, २०७८ शुक्रबार १०:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।