देउवा समूहको रणनीतिक मुभ : प्रचारमा समेटे गणेशमान, मङ्गलादेवी र शैलजा

काठमाडौँ : गणेशमानको परिवारले मात्र त्याग गर्नुपर्ने भन्दै संस्थापनइतर समूहबाट सभापतिको उम्मेदवार बन्ने तयारीमा छन् प्रकाशमान सिंह। उनकै अडानले संस्थापनइतर समूहमा सर्वसम्मत उम्मेदवार चयन हुन सकेको छैन।
गणेशमान र मङ्गलादेवीको लिगेसी बोक्दै सिंह पार्टीको नेतृत्वको प्रतिस्पर्धामा होमिने अन्तिम तयारीमा रहँदा संस्थापनतिरका सभापतिका उम्मेदवार शेरबहादुर देउवा समूहले आफ्नो प्रचार सामाग्रीमा रणनीतिक चाल चलेका छन्।
कांग्रेसको ब्यानर होस् या नेताका प्रचार सामाग्री त्यसमा देखिने बिपी कोइराला, सुवर्ण शमशेर राणा, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइराला नै हो। सामाजिक सञ्जालमा सार्वजनिक भएको देउवाको प्रचार सामाग्रीमा उनले मङ्गलादेवी सिंहलाई समेटेर सिंहको लिगेसी आफूसँग पनि रहेको सन्देश दिने प्रयास गरेका छन्।
उनको यी प्रचार सामाग्रीलाई उनको डिजिटल टिमले सामाजिक सञ्जालमा फैलाइरहेका छन्। गणेशमान र मङ्गलादेवीका छोरा प्रकाशमानले महाधिवेशनको उद्घाटन हुने दिनसम्ममा औपचारिक रूपमा उम्मेदवारी घोषणा समेत गर्न सकेका छैनन्। उनका शुभेच्छुकले उनको प्रचार सामाग्री सञ्जालमा राख्न थालेका छन्। तर उनले औपचारिक घोषणा भने गरेका छैनन्।
देउवाको प्रचार सामाग्रीमा कांग्रेस नेतृ शैलजा आचार्यको तस्बिरले समेत स्थान पाएको छ। यसअगाडि कांग्रेस नेताले आफ्ना कुनै खालका सामाग्रीमा पनि शैलजालाई स्थान दिएको देखिएको थिएन। देउवाले प्रचार सामाग्रीलाई रणनीतिक बनाउँदै कांग्रेसमा रहेका सबै विचार समूहको नेतृत्व आफैले गर्ने सन्देश प्रवाहको प्रयास गरेको देखियो।
मंसिर २४, २०७८ शुक्रबार ०९:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।