नाबालक छोराछोरीसहित बेचबिखनमा परेका चार जनाको भारतबाट उद्धार

पर्साः जिल्ला प्रहरी कार्यालय पर्साले मानव बेचबिखनमा परेका दुई नाबालकसहित चार जनालाई भारतबाट उद्धार गरेको छ। करिब दुई वर्षअघि झापाबाट नाबालक छोराछोरीसहित हराएका १८ र १९ वर्षीया दुई युवती उद्धार गरिएको हो।
उनीहरू भारतको विहार राज्यस्थित छौँडादानो भन्ने स्थानमा आकर्षक काममा लगाइदिने भनी प्रलोभनमा परेर बेचबिखनमा परेको थाहा पाएपछि प्रहरीले उद्धार गरेको हो। जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले माइती नेपाल पर्सा तथा भारतीय काउन्टरपार्टस्सँग समन्वय गरी चारै जनालाई उक्त स्थानबाट उद्धार गरेको हो।
मानव बेचबिखन कसुरमा सलंग्न व्यक्तिको पहिचान तथा खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।
मंसिर २४, २०७८ शुक्रबार ०८:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।