कांग्रेस नेता नरहरिको सम्झना र सम्बन्ध : दरबारसँग न नजिक न टाढा

आचार्यले आफ्नै जीवनीमा आधारित ‘जीवनको पाठशाला: सम्झना र सम्बन्ध’ नामक पुस्तक विमोचन कार्यक्रममा संविधानको कार्यान्वयन गर्दै कांग्रेसले जिम्मेवारी लिएर मुलुकलाई निकास दिनुपर्नेमा जोड दिए।
साङ्ग्रिला बक्सले प्रकाशनमा ल्याएको उक्त पुस्तकमा आचार्यको राजनीतिक जीवनका भोगाइ र घटनाक्रमलाई समेटिएको छ। पुस्तकको बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा आचार्य, राजनीतिक विश्लेषक सिके लाल, प्राध्यापक सावित्री मल्ल र कवि शारदा शर्माले संयुक्त रूपमा विमोचन गरे।
पुस्तकका लेखक आचार्यले आफ्नै जीवनको पाठशालाका रूपमा पुस्तक आएकामा खुसी व्यक्त गरे। उनले पुस्तकमा जीवनको अन्तरङ्ग, भोगाइ, राजनीतिक जीवन र सङ्घर्षलाई उजागर गरेको बताए।
पुस्तकको समीक्षा गर्दै राजनीतिक विश्लेषक सिकेलालले जीवनलाई पाठशालाको रूपमा लिए सहज हुने बताए। दुःखले धेरै कुरा सिकाउँछ, फर्केर हेर्दा जीवन सहज हुन्छ भन्ने सन्देश पुस्तकले दिएको उनको भनाई थियो।
घटनाको विवरण, काठमाडौँको बाल्यकाल, तनहुँको चुँदी रम्घाको केही पल, मध्यम वर्गीय ब्राह्मण समाजको चित्रण, दरबारसँग नजिक हुन नसकेको र टाढा हुन पनि नसकेको आत्म चिन्तन र मूल्याङ्कन पनि पुस्तकमा झल्किएको उनले बताए।
प्राध्यापक सावित्री मल्लले उपन्यास शैलीमा लेखिएको पुस्तकले आचार्यको जीवनसँग जोडिएको आत्मकथाको व्याख्या गरेको बताइन। शारीरिक कठिनाइ र भोगाइलाई पनि पुस्तकले समेटेको र बालकदेखि सक्रिय जीवनसम्मका अवस्थालाई पुस्तकमा अटाइएको उनले बताइन।
आचार्यकी धर्मपत्नी कवि शारदा शर्माले धेरै प्रकारका अफठ्याराबीच पुस्तक बजारमा आएको र यसले समेटेका विषयवस्तु रोचक र उत्प्रेरक भएको उल्लेख गरिन्।
कांग्रेसभित्र गणतन्त्रवादी नेताका रूपमा चिनिने आचार्य नेपाली राजनीतिमा परिचित नाम हो। उनले सक्रिय राजनीतिमा आउनु पूर्व झन्डै डेढ दशक प्राध्यापन गरेका थिए।
मंसिर २३, २०७८ बिहीबार २२:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।