ट्राफिक नियम उल्लङ्घन गर्नेलाई अनलाइनबाटै जरिवाना

महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारबाही स्थलमै जरिवाना तिरेर आफ्नो कागजपत्र फिर्ता लिन सकिने व्यवस्था गरेको जानकारी दिएको हो।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बिहीबार एक कार्यक्रमकाबीच प्रविधिमा आधारित ‘पे फाइन अन द स्पट सिस्टम’ व्यवस्थाको सुरुवात गरेका हुन्।
भट्टराईले अबदेखि चिट काटेपछि जरिवाना तिरेर ट्राफिक कार्यालयमा गई कागजात फिर्ता लिने व्यवस्थामा परिमार्जन गरी थप सहज बनाउन जरिवाना रकम तत्काल भुक्तान गरी कागजात फिर्ता लिने प्रणाली सुरु गरेको बताए।
पहिलो चरणमा गौशाला, दरबारमार्ग, थापाथली, जावालाखेल र जनसेवागरि पाँच वटा ट्राफिक कार्यालयबाट सुरु गरेको यो सेवालाई क्रमशः अन्य कार्यालयमा समेत बिस्तार गर्ने महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाएको, लेन अनुशासन पालना नगरेको र रातो बत्ती उल्लङ्घन गरेका चालकले भने ट्राफिक जनचेतनामूलक प्रशिक्षण लिएपछि ट्राफिक प्रहरी महाशाखाबाट मात्र आफ्नो कागजात फिर्ता लिन सकिने छ।
मंसिर २३, २०७८ बिहीबार १५:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।