राजनीति छाड्ने धम्कीपछि रामचन्द्रको सन्देश : पद, पैसा र पावरको हैन, विचारको राजनीति गरौँ

काठमाडौँ : आफ्नो समूहबाट सभापतिको एकल उम्मेदवार चयनमा सकस भएपछि राजनीति छाड्ने धम्की दिएर हिँडेका काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सामाजिक सञ्जालमा सन्देश राखे' पद,पैसा र पावरको हैन विचारको राजनीति गरौँ।'
सभापतिमा एकल उम्मेदवार चयन गर्न चाक्सीवारिमा बसेको संस्थापनइतर समूहको दोस्रो बैठकमा पनि सहमति हुन सकेन। शेखर कोइराला र प्रकाशमान सिंहले सभापतिको दावेदारी नछाडेपछि एकल उम्मेदवार छान्न नसके आफू राजनीति छाडेर घरमा बस्ने धम्की दिएका थिए।
सहमतिको आधारमा एकल उम्मेदवार चयनमा सहजीकरण गर्दै शंशाक कोइरालाले आफ्नो दाबी छाडेका थिए। उनको जोड पौडेलमा छ। तर डा कोइराला र सिंह कुनै हालतमा ब्याक हुने पक्षमा देखिएका छैनन्।
युवा नेताहरू समेत एकल उम्मेदवारको पक्षमा छन्। संस्थापनइतरबाट २ जना उम्मेदवार भए शेरबहादुर देउवाले पहिलो चरणमै जित्ने इतर पक्षका युवा नेताहरूको विश्लेषण छ। पौडेलले समेत मिलेर जान नसके सभापतिमा देउवाले जित्ने बताउँदै आएका छन्।
डा शेखर भने २ भन्दा बढी उम्मेदवार भएको अवस्थामा दोस्रो चरणमा जाने र आफू र देउवाबिच दोस्रो चरणमा प्रतिस्पर्धामा परिणाम आफ्नो पक्षमा आउने दाबी गरिरहेका छन्।
मंसिर २२, २०७८ बुधबार २२:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।