राप्रपा किचलो : कोठा रित्तै, कुर्सी खाली तर जाँदैनन् कमल थापा

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनबाट अध्यक्षमा राजेन्द्र लिङदेन विजयी भए पनि उनी अध्यक्ष कमल थापाले प्रयोग गरिरहेको कोठामा बसेनन्। उनले त्यो कोठा थापालाई नै छाडेर अर्कै कार्यकक्षमा अध्यक्षको पदभार लिए।
तर थापा निर्वाचनमा पराजित भएदेखि कार्यालय गएका छैनन्। सामाजिक सञ्जालमा उनी विरहका गीतका लाइनहरू शेयर गरेर बसिरहेका छन्। उनले विज्ञप्ति निकालेर पार्टी विभाजन नगर्ने वाचा त गरेका छन् तर उनको व्यवहारले उनले अझै लिङदेनलाई पार्टी अध्यक्ष स्वीकार गर्न नसकेको प्रस्टै देखिन्छ।
निर्वाचनपछि बुधवार पार्टी कार्यालयमा पार्टीको केन्द्रीय समितिको पहिलो बैठक बस्यो। त्यो बैठकमा पनि थापा गएनन्। बैठकमा तत्कालीन २ अध्यक्ष पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनी लगायतका निर्वाचित पदाधिकारी सहभागी थिए। थापाका लागि मञ्चमा कुर्सी समेत राखिएको थियो। तर उनी नगएपछि त्यो कुर्सीमा कोही नबसी खाली नै राखियो।
बैठकको दायाँतर्फ २ निवर्तमान अध्यक्ष राणा र लोहनी र ध्रुवबहादुर प्रधान बसेका छन्। बायाँतिर अध्यक्ष लिङदेन। त्यसपछिको कुर्सी खाली छाडियो। अनि उपाध्यक्ष बुद्धिमान तामाङ, विक्रम पाण्डे र महासचिव भुवन पाठक र महिला उपाध्यक्ष कुन्ती शाही बसेका छन्।
निर्वाचन परिणामपछि निरन्तर निर्मल निवास र पूर्व राजा ज्ञानेन्द्र शाहप्रति आक्रोश व्यक्त गर्दै आएका थापाले विज्ञप्तिमा राजतन्त्रवादी राप्रपाको निर्वाचनमा निर्मल निवास र पूर्व राजाले खेलेको भन्दै अन्य दलभित्र पनि खेल्लान् भनेर सचेत गराएका थिए।
मंसिर २२, २०७८ बुधबार १८:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।