निरन्तर ओरालोमा सेयर बजार : एसबिआइ र चार्टर्डको सेयर मूल्य बढ्यो, सामुदायिक लघुवित्तको घट्यो

काठमाडौँ : बुधवार सेयर कारोबार रकम २ अर्ब ६६ करोड रुपैयाँमा खुम्चिएको छ। यो मङ्गलवारको तुलनामा ४६ करोड रुपैयाँ कम हो। मङ्गलवारको बजारमा ३ अर्ब १२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।
नेप्से परिसूचक पनि ५३.१० अङ्कले घटेर २४५५.८१ बिन्दुमा झरेको छ। मङ्गलवारको तुलनामा बुधवारको बजारमा ७ कम्पनीको मात्रै सेयर मूल्य बढ्यो। नेपाल एसबीआई र स्ट्याण्डर्ड चार्टर्डको सेयर मूल्य क्रमशः १.४० र १.९४ प्रतिशतले बढेको छ।
बजारमा सबैभन्दा बढी सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य घटेको छ। संस्थाले सेयर धनीलाई लाभांश वितरण नगर्ने घोषणा गरेसँगै संस्थाको सेयर मूल्य घटेको हो। बुधवारको बजारमा संस्थाको सेयर मूल्य ८.५४ प्रतिशतले घटेर प्रतिकित्ता ११६८ रुपैयाँमा झरेको छ। बुधवार कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन्। जीवन बिमा समूहको सबैभन्दा बढी २९४.४४ अङ्कले घटेको छ।
मंसिर २२, २०७८ बुधबार १७:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।