सुवर्ण शमशेरको त्यो भाषणः महेन्द्र महाराज! प्रजातन्त्रप्रति विश्वास बढाइबक्स्योस्

वि.सं. २०१२ सालमा भएको नेपाली कांग्रेसको छैटौं महाधिवेशनले सुवर्ण शमशेरलाई सभापति चुनेको थियो। सभापतिमा निर्वाचित भएपछि उनले गरेको भाषणको सम्पादित अंशः
प्यारा साथीहरू!
तपाईंहरूले मलाई यो महान् संस्थाको सभापति चुनेर आभारी बनाउनुभएको छ। यो ठूलो भार वहन गर्न तपाईंहरूको स्नेह र सहयोग सदा मागिरहने छु। हाम्रो लक्ष्य ठूलो छ। लक्ष्यमा पुग्न धेरै काम गर्नु छ। प्रत्येक पलमा काँध र कदम किलाएर निःस्वार्थतापूर्वक अगाडि बढ्यौं भने सफलता हाम्रो हुनेछ। सबैभन्दा पहिले सहयोगको यो पुकार तपार्इंहरूसित गरेको छु।
नेपालमा प्रजातान्त्रिक समाज निर्माण गर्न हामीलाई अग्रसर गराउने हाम्रा नेता साथी विश्वेश्वरप्रसाद कोइरालाले वहन गर्नुभएको भार मेरो दुर्बल काँधमा आएको छ। तपाईं सबै साथीहरूको सद्भावनापूर्ण सहयोग विशेषगरी साथी श्री विश्वेश्वरप्रसाद कोइरालाको सल्लाह र सहयोगबाटै म पार्टीको भावी कार्यक्रमको निर्धारण गर्नेछु। साथी विश्वेश्वरजीले आज मेरो हातमा त्यस्तो पार्टी दिनुभएको छ, जसको संघर्षमय, क्रान्तिकारी र प्रजातान्त्रिक परम्परा केवल हाम्रो देशमा मात्र विख्यात छैन। अपितु, यसको कीर्ति–गाथा डाँडाकाँडा नाँची सारा एसिया र विश्वका शेष भागमा पनि फैलिएको छ।
हाम्रो देश आज इतिहासको दोभानमा छ। अनिश्चयताको वातावरणले नेपाली जनजीवनको वर्तमान तथा भविष्य ढाकिएको छ। राजनीतिक भनौं वा आर्थिक या सामाजिक भनौं सबै स्थितिले मोड लिन लागेको छ। जुन आदर्शबाट प्रेरित भएर प्रजातन्त्रको वेदीमा हाम्रा शहीदहरूले जीवन समर्पण गरे र जसको तपस्याले नेपालमा ऐतिहासिक क्रान्ति सम्पन्न भयो त्यो आदर्श र तपस्याको चित्रको रूपरेखासम्म पनि बन्न सकेको छैन।
पश्चिमी साम्राज्यवादसँग मितेरी लगाएर निहित स्वार्थ रक्षा गर्न एकतन्त्रीय राणाशाहीले एक शताब्दीसम्म नेपाल र नेपालीलाई जकड्याएर राख्यो। यसको प्रभावले हाम्रो गतिको बाटो अझ सिधा भएको छैन। व्यवस्थाहीन बेकार बन्यौं, अशिक्षित पछौटे रह्यौं र दरिद्र ज्यामीको पेसा गर्न बाध्य भयौं। जताततै जनशक्तिको सञ्चार भयो, हलचल भयो, तर हामी बन्दी गुलाम भइराख्यौं।
दोस्रो विश्वयुद्धपछि एसियामा भएको महान परिवर्तनको प्रभाव रोक्न राणाशाहीले कम प्रयत्न गरेको होइन तर हामीमा चेतना आयो, जनजीवनको आदर्शले हामी जागृत भयौँ। सङ्कुचित व्यक्तिगत स्वार्थमा अन्धा भएर देश र देशवासीलाई दुःख दिने दानवीय एकतन्त्रीय जहानियाँ राजलाई अन्त्य गरेरमात्र नेपाल र नेपालीले प्रगति गर्न सक्तछ भन्ने कुरा प्रादुर्भाव भयो। प्रजाको सुख र उन्नतिमा तगारो भएको तत्कालीन शासनलाई अन्त्य गर्नु पहिलो काम थियो। साधन र मार्गको खोजमा व्यस्त थियो।
जनसङ्गठन र जनसम्पर्कमा सिद्धान्तमा खडा भएको संस्थाको आवश्यकता अनुभव भयो। जनसम्पर्कमा विश्वास राखी बनेको प्रजातन्त्रको मुल आधार भएको पहिलो संस्था नेपाली कांग्रेस नै हो। बाहिर रहनुपरे तापनि कांग्रेसको जति उत्साहपूर्वक स्वागत भयो र भित्र–भित्रै यसको व्यापकता फैलियो त्यसले हाम्रो हौसला बढयो र राणाशाहीलाई आफ्नो दुशासन अन्त्य गर्नका अतिपूर्ण गरेको सत्याग्रहलाई हिंसापूर्ण दुराग्रहले दमन गर्न लागे। २००७ सालमा कान्ति गर्न बाध्य भयो। यो अन्तिमा सेवा गर्ने मौका मैले पाएँ। मेरो विचारमा विश्वको क्रान्तिको दियो छोटो तर अत्यन्त नै व्यापक महत्व भएको क्रान्ति थियो। १०५ दिनमा १०५ वर्षसम्य जमेको राणाशाहीको अन्त्य भयो। अरू देशमा भएका कान्तिहरूको जस्तो धेरै रक्तपात, लुटमार र अराजकता भएन। कतैकतै नहुनुपर्ने अवाञ्छनीय घटनाहरू अलिकति भए त्यसबाट मलाई दुःख छ। तापनि अरू मुलुकका क्रान्तिका इतिहासमा देखिएका परिस्थितिहरूको अध्ययन गर्दा नेपालमा शान्तिपूर्वक क्रान्ति सफल भयो। तर क्रान्ति चाँडो सफल हुँदा त्याग र परिश्रमको जति मात्रामा सेव हुनुपर्दथ्यो सो भएन। यसैले क्रान्तिको मूल्य र पाठमा जानपर्ने ध्यान धेरै गहिरो गएन।
कुरीतिले जकडिएका सबै तत्वहरूलाई स्वतन्त्र गरायो। अनेक रङ्गविरङ्गका अखडाहरू उम्रन लागे। समाजको चेतना इच्छामा मात्र सीमित थियो। नेपालीको कर्तव्यप्रति चेतना जागरूक थिएन। देशमा अनावश्यक जातीय रक्तपात बन्द गराउन र प्रजातन्त्रको विरुवा रोप्न सम्झौता गर्नुपर्यो, तर पराजयको भावनाले सामन्ती तत्वलाई छोडेन। प्रतिशोधको मौका खोज्ने दुर्मतिमा यी लागे। प्रतिगामी साम्प्रदायिक तथा प्रजातन्त्रमा विश्वास राख्ने राजा र प्रजा दुवैथरीसँग बदला लिने भावानाले प्रजातन्त्रलाई नै दोषी बनाउन लागे। इतिहासलाई पछाडि धकेल्नु आफ्नो अवन्नति चाहनु हो भन्ने सत्य कुराको ज्ञान यो तत्वलाई थिएन।
क्रान्तिका सिपाही नेपाली कांग्रेसका कार्यकर्ता हामी सबैको जिम्मेवारी बढ्यो। प्रजातन्त्रको जग बलियो भयो भने प्रजातन्त्र मर्ने छैन भनेर यसको जग बलियो बनाउन लाग्यौँ। सर्वप्रथम नेपाललाई अन्तरिम प्रजातन्त्र विधानले सुशोभित गरायौं। विधान–सभाको वालिग मताधिकारबाट चुनाव गराउने र प्रजातान्त्रिक विधान बनाउने घोषणा गरायौं। सर्वप्रथम नेपाललाई अन्तरिम व्यवस्था, समान अवसर, स्वतन्त्र लोक सेवा आयोगद्वारा ल्याकत बमोजिमको काम दिलाउने व्यवस्था, मुलुकको आमदानी खर्चको हिसाब बताउने स्वतन्त्र संस्था, सचिवालयको प्रजातन्त्र ढाँचामा गठन, अन्तरिम सल्लाहकार सभा र कृषि तथा उद्योगको सुधार र निर्माणको जग लगायौँ। कृषक वर्गको उत्थानका लागि गहकिला र क्रान्तिकारी कदमहरू पनि उठायौँ।
त्रिभुवन वीरविक्रम शाहदेवलाई प्रतिगामी तत्वहरूले निहित स्वार्थका लागि घेरामा हाले
दुर्भाग्यवश प्रतिक्रियावादी तत्वको षड्यन्त्र चलिनै रह्यो। प्रत्येक देशमा क्रान्तिपछि सञ्चार हुन प्रगतिगामी वातावरणले नेपाललाई पनि छोडेन। हाम्रा केही साथीहरू पनि त्यसमा गुम्सिए। हाम्रो क्रान्तिमा ऐतिहासिक कदम लिने मुख्य तत्व स्वयं स्व. श्री ५ महाराजाधिराज त्रिभुवन वीरविक्रम शाहदेवलाई प्रतिगामी तत्वहरूले निहित स्वार्थका लागि घेरामा हाले। आफूले खडा गरेको प्रजातन्त्र आधारशीलालाई खलबल गराउन दिनु नेपाली कांग्रेसको नीति र कर्तव्यका विरुद्ध हुने थियो। नेपाली कांग्रेसले प्रजातन्त्रलाई प्रतिक्रियावादीहरूको जालमा ध्वस्त हुन दिन कदापि मन्जुर गर्न सकेन। त्यसैले २००८ साल भाद्रदेखि सरकारबाट अलग भएर प्रजातन्त्र टिकाउन वैधानिक खुला संघर्ष गर्ने नीति नेपाली कांग्रेसले अनुकरण गरेको हो। यो कदम नलिएको भए सायदै परिवर्तका कुनै चिन पनि बाँकी रहँदा हुन्। जुन बेगले सामन्ती भेल बहन लाग्यो, नेपाली कांग्रेसले अनेकौं स्थानीय सत्याग्रह तथा अरू किसिमको शान्तिमय आन्दोलन गरेर यसलाई रोक्यो।
यो स्पष्ट छ, वास्तवमा पुनरुत्थानवादी भग्नावशेषलाई पनि खुलेआम अप्रजातान्त्रिक काम गर्न कठिन भयो र प्रजातन्त्रको मुकुन्डो लगाउन बाध्य हुनुप¥यो। नेपाली कांग्रेसको वस्तुतः प्रजातन्त्रवादी स्थिति र तत्वसँग सहयोग गर्ने र प्रजातन्त्र विरोधी स्थिति र तत्वसँग संघर्ष गर्ने आधार नीति हो।
अपसोचपूर्वक भन्दछु, नेपाली कांग्रेसले सरकारबाट अलग भएदेखि आजसम्म देशमा एउटा बडो अनिश्चित परिस्थिति छ। पहिलो पहिलो परामर्शदात्री मण्डल, किसिम किसिमको मातृका–मन्त्रिमण्डल र अहिले चलेको प्रत्यक्ष शासनले प्रजातन्त्रको नियमका विरुद्ध काम गरिरहेको स्पष्ट छ। यसले हाम्रो राष्ट्रिय जीवनमा ठूलो धक्का लागेको छ। हाम्रो दुःख प्रतिदिन बढ्दो छ। सुखको आशा कम हुँदैछ। आज हामी नेपालबासीको जीवन जति सङ्कटपूर्ण छ। भूमण्डलको कुनै मुलुकमा पनि यस्तो अवस्था छैन होला। आज जताततै निर्माण युगमा चलेको छ। रचनात्मक सृजनाको भेल बहेको छ। तर हाम्रो भने अउन्नति हुँदैछ। यो अत्यन्त दुःख र लज्जाको कुरा हो।
के हामीलाई दुःखी रहनुपर्ने आवश्यकता छ? छैन, कतै कुनै कारण छैन। हामीले सङ्कटमय दिन काट्नुपर्ने होइन। हाम्रो देशमा प्रशस्त साधन छन्। हाम्रो जाँगर विश्वाविख्यात छ। हामी परिश्रमी छौं। तापनि अनौठो छ कि हामी दुःखी छौं। हाम्रो समाजको दशा मध्यकालीन सामन्ती युगको समान छ हाम्रो मन र तर्क दरबारी चाकरीको र स्वार्थ लोभको तहमा फसेकै छ। स्वतन्त्रताको स्वाभिमानी देश र देशबासी आफ्नो जन्मभूमिभित्र गुलामी मनोवृत्तिमा जकडिनुको निराशाको कुरो हो।
१०५ वर्षसम्मको दासत्व र भयको श्रावमा वहेको विचारले लोभ, इर्ष्या र धोखाको सीमाबाट पार पाउन सकेको छैन। यसले गर्दा आज समाज र देशमा अव्यवस्था छ। न शान्ति छ, न सुरक्षा नै डर र त्रासले प्रत्येक भोपडी काँपिरहेछ। सरकारी शासन गति र नीतिले हीन भएर ठप्प अड्केको छ। नयाँ विचार र नयाँ बानी अझ व्यवहारमा पाइँदैन। आर्थिक स्थिति विकराल छ। दुई छाक सुखपूर्वक पेट भर्न पाउनेको संख्या दिन परदिन घट्दै गएको छ। देशको मुख्य धन खेतीको हालत बिग्रेको छ। देशको मुख्य कर्णधार किसान नांगो र दुर्बल हुँदैछ। शोषित भएर ढल्न लागेको छ। शोषितको बोझ बढ्दो छ। खेतीबाट उब्जा कम हुँदै गएको छ। उब्जा बढाउने साधन र प्रेरणा कतैबाट पाइँदैन। नेपालको धन हरियो बन उखानमात्र हुन लागेको छ। जङ्गल साफ गराएर चाकरीदारको व्यक्तिगत धनमा परिवर्तन गरिंदो छ। उद्योग व्यवसाय कतै केही छैन।
सरकारी नीति केही छैन। सुव्यवस्थाको आधार बनेको छैन। मुलुकको आम्दानी छैन। इलम र रोजगारको व्यवस्था छैन। देशवासी विदेशमा ज्यामीको काम गरेर प्राण रक्षा गर्न बाहिरिँदै छन्। भ्रष्टाचार व्यापक छ। घुसखोरी र नाफाखोरीको बोलवाला छ। नतावाद, कृपावादले प्रशासन शिथिल र बेकम्मा हुन लागेको छ। अशिक्षा व्यापक छ। कुशिक्षाको प्रचार बढेको छ। जनताको स्वास्थ्यको प्रबन्ध छैन। विना औषधि र उपचार लाखौं प्राणी मर्दछन्। खाद्य सामग्रीको हाहाकार प्रत्येक वर्ष व्यापक हुँदो छ, तापनि निर्लज्जतापूर्वक गुड्डी हाँक्न हामी पछि हट्दैनौं। कुरौटे नशामात्र सहज इलम भएको छ। यो दुर्दशामा फसेका नेपालीलाई उद्धार गर्न आवश्यक छ। नेपाली कांग्रेसले यसलाई टुलुटुलु हेरिरहनसक्ने कुरा होइन। युगको परिवर्तन गराएर चुप लाग्न नेपाली कांग्रेस सक्तैन। जुन आदर्शका लागि परिवर्तन ल्यायो, त्यो आदर्शका लागि कर्तव्य गर्नु हाम्रो मुख्य काम हो।
समाजवादको स्थापना गराउन प्रजातन्त्रवादी समाजवादले मात्र हुन सक्तछ
यो परिस्थितिबाट उत्रिन हामीले हाम्रो सामुन्नेको लक्ष्य नयाँ घोषणापत्रद्वारा संकल्प गर्न लागेका छौँ, देशको परिस्थिति र वस्तुस्थितिलाई विचार गरेर निर्माण गर्न लागेका छौं। एक मुट्ठीभर सामन्ती शोषकका लागि होइन, ८५ लाख शोषित भोका, नांगा बेकार, अशिक्षित र रोगी नेपालीको कल्याणका निमित्त नयाँ समाजको निर्माण गर्न हो। हामीले समाजवादी व्यवस्था मात्र नेपालको बाटो हुनसक्तछ भनी आफ्नो लक्ष्य बनाएका छौं। समाजवादी व्यवस्था प्रजातन्त्रात्मक साधन र उपायबाट प्राप्त गर्न सङ्कल्प गरेका छौं। समाजको चेतनापूर्ण भागहरूको खुड्किलोबाट लक्ष्यको शिखरमा पुग्नेछौं। मोडिने र फर्किने काम हामीबाट हुने छैन।
हाम्रो जीवन नेपालको धर्तीमाताको प्रसादले चलेको छ। ती माता दीन र हीन हुँदी छन्। तिनको सेवा गरौं र धर्ती माताका पुत्र सुखी हुन् यही हाम्रो लक्ष्य छ। उद्योगधन्दा र व्यवसायबाट उत्पादन गर्न नसकुञ्जेल हामी वास्तविक रूपमा स्वतन्त्र र स्वाभिमानी हुन सक्तैनौं। ठूलाठूला आधार उद्योगलाई राष्ट्रिय सम्पत्ति बनाएर उत्पादन गर्नु छर मझौला उद्योगधन्दा सरकार र पुँजीका बीच हुनेछ र घरेलु उद्योगको व्यापक विस्तार गर्नुछ। समाजलाई हक र कर्तव्यको ज्ञान गराई देशका लायक नागरिक बनाउन राष्ट्रिय आधार शिक्षालाई जताततै सहज बनाउनु छ।
युग–युगान्तरदेखि विश्वविख्यात दरिलो र गठिलो नेपालीलाई सक्तहीन कमजोर र रोगातुरताबाट बचाउनु छ र राष्ट्रिय स्वास्थ्य सेवाद्वारा फेरि बलियो र भरिलो बनाउन परेको छ। नेपाली जनजीवनलाई एक सन्तुलित योजनापूर्ण जीवन बनाउनु आवश्यक छ। यस निर्माणका निमित्त एउटा सुनियोजित र निश्चित योजना हुनुपर्दछ। साथै एउटा समाजिक दर्शनको अभावमा पनि देशको प्रगतिको कुनै पनि योजना सफल हुनसक्तैन। फेरि केही सरकारी कारिन्दाहरू मात्र बसेर देशको वस्तुस्थिति नबुझी बनाएको योजना पनि कदापि सफल हुन्न।
आजको सरकारद्वारा प्रस्तुत पञ्चवर्षीय योजनामा यसको सर्वथा उपेक्षा गरिएको छ भनी म तपाईहरूलाई भन्न चाहन्छु। नयाँ नेपाल निर्माण गर्न सामूहिक प्रयत्न र जनतामा स्वतः प्रेरणा उत्पन्न गर्नुपरेको छ। कुनै एक व्यक्ति अथवा अलिकति व्यक्तिले यो सक्ने कुरा होइन। सामूहिक प्रयत्नद्वारा मात्र नयाँ समाज निर्माण हुनेछ।
हाम्रो राष्ट्रियताको व्यापक विकास र सर्वतोमुखी समाजवादको स्थापना गराउन प्रजातन्त्रवादी समाजवादले मात्र हुनसक्तछ। स्पष्ट छ, यो कठोर परिस्थितिमा हाम्रो अभिभारा ठूलो छ। नेपाललाई रक्षा गरेर प्रगतिशील देश बनाउने जिम्मेदारीमा हामीले अग्रसर हुनै पर्दछ।
हाम्रो संस्था केही समयका निमित्त अथवा एउटा काम गरेर मात्र थन्किन बनेको होइन, न त यो कुनै व्यक्तिको स्वार्थसिद्धका लागि खडा भएको एउटा हत्कण्डे संस्था हो। देश र समाजप्रति कर्तव्य गर्न सेवाभावले दृढ भएको यो हाम्रो संस्था हो। निःस्वार्थपूर्ण काम र त्याग हाम्रो संस्थाका प्यारा व्रतहरू छन्। ८५ लाख जनसंख्या भएको देशमा ६ लाख भन्दा बढी सदस्य भएको हाम्रोजस्तो संस्था अरु देशमा पनि विरलै छन्। हाम्रो सङ्गठन ठूलो छ र व्यापक छ। गत चार वर्षमा हामीले सङ्गठन निकै बढायौँ। क्रान्तिकाल र त्यसपछिको र आजको संस्थाको स्थिति हेर्दा हामीलाई सन्तोष लाग्दैछ। हाम्रो बल कम छैन यसको शक्तिको सदुपयोग भयो भने देश निर्माण गर्न सजिलेसित सक्नेछौं भन्ने हाम्रो गर्व स्वाभाविक हो।
हाम्रो नीति स्पष्ट छ। भोलिको नक्सा हामीलाई छर्लङ्ग छ। कस्तो रूप चाहन्छौं भन्ने हाम्रो संस्थाको आत्मा र शरीर घोषणापत्र र विधान सामुन्ने प्रकाशमा छन्। शोषणरहित, न्यायपूर्ण, समान अवसर र हक दिलाउने प्रजातन्त्रवादी समाजको बाटो साफ छ। हामी आफ्नो चारतारे झण्डाको मुनि निर्धारित लक्ष्य प्राप्त गर्न कुनै पनि मूल्य चुकाउने छौं।
नेपाल राजतन्त्रीय देश हो। हामी आफ्नो देशमा राजतन्त्र नै उपयुक्त छ भन्ने विश्वास गरेकाले यसलाई मान्यता दिएका छौं। नेपाललाई एउटा राष्ट्रमा गुथेर वर्तमान नेपाल निर्माण गर्ने श्री ५ पृथ्वीनारायण शाह र प्रजातन्त्रका लागि जनताको साथ दिन ऐतिहासिक कदम उठाउने श्री ५ त्रिभुवन वीरविक्रम शाहदेवको कर्तव्यले गर्दा हामीलाई राजतन्त्र प्यारो भएको छ। हामी आफ्नो प्यारो वस्तु राजतन्त्रलाई हानि नहोस् भनी कामना गर्दछौं। वैधानिक प्रजातन्त्रमा केवल प्रजाहरूको मात्र कर्तव्य हुँदैन। राजाको पनि कर्तव्य हुन्छ। राजाको कर्तव्य पनि विधानको सीमाभित्र रहन्छ। आजको युगमा १६ या १७ शताब्दीको निरङ्कुश राजतन्त्र चल्न सक्तैन। यो हामी सबैलाई थाहा भएकै कुरा हो।
श्री ५ त्रिभुवनबाट एकतन्त्रको अन्त्य गर्ने इच्छा धेरै वर्षदेखि लिइबक्सिएको थियो। म अहिले यतिसम्म भन्न सक्छु कि २००२ सालदेखि मौसुफसँग प्रजातन्त्रको स्थापनाका लागि मेरो घनिष्ट सम्र्पक कायम भएको हो। तर मौसुफलाई मौका र साधनको जरूरत थियो। बैरगनियाँमा भएको नेपाली कांग्रेसको बैठकको निर्णयले मौसुफलाई प्रेरणा दिन सक्यो र २००७ सालको मौसुफको कदम उचित र त्यागपूर्ण थियो। म निर्धक्क भएर भन्न सक्छु कि स्वर्गवासी श्री ५ त्रिभुवनलाई प्रजातान्त्रमाथि अभिरूचिमात्र होइन कि विश्वास पनि थियो। देशको दुर्भाग्यका कारणले स्वार्थी र प्रतिगामीहरूको प्रभाव मौसुफ उपर बढ्ता पर्न गयो। स्वार्थी व्यक्तिहरूले असत्यलाई अनित्यलाई सत्य भनी भान पारी मौसुफलाई केही दिनसम्म लक्ष्यबाट विमुख गराउन कोशिस गरे। मलाई विश्वास छ, मौसुफलाई सत्यताको स्वरूप स्पष्ट खुल्दै आएको थियो र दैवले हठात् हाम्रो बीचबाट मौसुफलाई नहटाएको भए अर्कै तरिका ग्रहण गरिबक्सने थियो।
महेन्द्र महाराज! प्रजातन्त्रप्रति विश्वास बढाइबक्स्योस्
वर्तमान श्री ५ महाराजाधिरजबाट बारम्बार प्रजातन्त्रको निर्माणका प्रति अभिरूचि प्रकट गरिबक्सेको छ। स्वर्गीय पिताको प्रजातन्त्र कायम गर्ने प्रण स्वीकार गरिबक्सेको छ। आफ्ना बुबाज्यूको सार्थक सहयोग गरिबक्सी साथमा देश छोडी कान्तिमा योगदान बक्सिएको हो आफैंले ल्याउन सहायता गरिबक्सेको प्रजातन्त्रमा मौसुपको रूची र विश्वास हुनु स्वाभाविक कुरा हुनेछ। हुन त झण्डै एक वर्ष हुनलाग्यो, मौसुफबाट सिंहासन चढिबक्सेपछि नेपालले प्रजातान्त्रिक सरकार देख्न पाएको छैन र जति काम भएका छन् प्रजातन्त्रका नियम र सिद्धान्तको विपरीत एकतन्त्रीय तरिकाबाट भएका छन्। तापनि म अझ आशा गर्दछु चाँडो प्रजातन्त्रप्रति भएको विश्वासको परिचय जनतालाई मौसुफले बक्सनेछ। नत्र त जनताको आधार र विश्वासमा निर्वलता आउनेछ। त्यो हानिकारक हुनेछ। प्रजातन्त्रलाई प्यारो गर्ने र प्रजाको कल्याण चाहने राजाले प्रजातन्त्र सिवाय अर्को दान के गर्नुपर्दछ र?
म यो सभाद्वारा मौसुफमा अपिल गर्दछु– नेपाललाई नेपाली प्रजाको सुखी र गौरवमय देश बनाउन प्रजातन्त्रको शुद्ध आधारमा चाँडो सरकार गठन होस् र प्रजातन्त्रको मुख्य अंग सरकारबाट हुकुम भएको २०१४ आश्विनमा हुने चुनाव सरकारको स्वर्गीय बुबाज्यूबाट अन्तरिम विधान बक्सँदा जनतालाई दान गबिक्सेको वालिग मताधिकारबाट बन्ने विधान सभा पूर्ण गराइबक्सियोस्। हामी नेपालीलाई सदा आफ्नो राजा र राजतन्त्रमा संसारको सामु गर्व गर्ने बाटो बक्सियोस्।
प्रत्येक दिन कामको एउटा खुड्किलो बनाएनौं भने हामी सदा पछाडि रहने छौं
साथीहरू, मैले तपाईंहरूको प्रशस्त समय लिइसकें। हामीहरूलाई गर्नुपर्ने काम थुप्रै बाँकी छ। यो अधिवेशनमा धेरै महत्वपूर्ण निर्णयहरू गर्नुपर्दछ। यो ज्यादा महत्वको छ। तैपनि म आफ्नो संस्थाको सङ्गठनपट्टि केही मेरा मनमा लागेका कुरा तपाईंहरुलाई भनेर यो भाषणको अन्त्य गर्नेछु।
प्रत्येक दिन कामको एउटा खुड्किलो बनाएनौं भने हामी सदा पछाडि रहनेछौं। हाम्रो बाटो सोझो छैन। विघ्न र बाधाका अनेक तत्व हाम्रा वरिपरि र हाम्रो सामुन्नेमा छन्। संस्थाको बल र मानका लागि हामीले मरेर, मेटिएर पनि यी काँडा, यी विघ्न बाधाहरूलाई खत्तम गर्नु छ। हो, हाम्रो जमात ठूलो छ। काम हुन नदिन षड्यन्त्र गर्ने अनिष्ट तत्वहरू पनि छन्। हाम्रो छाती ठूलो छ, उति विशाल हृदय बनाएर हामीले दृढ प्रतिज्ञ निष्काम कर्मयोगी बन्नुपर्दछ। सङ्कुचित स्वार्थभाव र अल्पलाभको लोभमा नेपाली कांग्रेसका कर्मठ कार्यकर्ता कदापि भुलिने छैनन्। संस्था व्यक्तिभन्दा ठूलो हो र मुख्य हो।
अतः सबैको व्यक्तित्वलाई संस्थाका लागि समर्पण गर्नुपर्दछ। हामीले होसियार र सतर्क हुनुपरेको छ। हाम्रो आफ्नो एकता दृढ रह्यो भने हामीलाई कसैले नोक्सान गर्नसक्ने छैनन्। हामीले सदा चनाखो भएर आफ्नो एकतालाई जोगाउनु छ। हामी प्रजातन्त्रका पुजारी हौं। हामी प्रजातन्त्र र प्रजातन्त्रवादीलाई आत्मीय सम्झन्छौं। तिनका कल्याणका लागि प्रार्थना गर्दछौं, तर प्रजातन्त्रवादी त्यो हो जसले सङ्गठनमा एकताको भाव राख्दछ। त्यो कसरी र कस्तो प्रजातन्त्रवादी हो, जो सिद्धान्तका आधारमा मेल गर्न जान्दैन र चाहँदैन तँतँ र मम गरेर रोटी टुक्राका लागि मात्र फिक्री गरिरहन्छ।
अप्रजातान्त्रिक, निरंकुश, सामन्ती र साम्प्रदायिक तत्वसँग हाम्रो मेल हुन सक्तैन। तर साँचा प्रजातन्त्रवादी व्यक्ति र संस्थाहरूलाई सदा एकताको बन्धनमा बाँध्न हामी प्रयत्नशील रहनेछौं। मेरो दृष्टिमा प्रजातन्त्र नै चाहिएको हो, म र मेरो तन्त्र अथवा अर्कै तन्त्रको साँचो छैन भने नेपालमा प्रजातन्त्रवादीहरूको मेलको बीचमा रोडा छैन। वास्तवमा पद र अधिकारको मोहले प्रजातन्त्रको मकुण्डो भएको अखाडामात्र कुरेको हो भने अर्कै कुरा हो। म सदा सबै प्रजातन्त्रका अनुरागीको साथमा रहने प्रयत्न गर्नेछु। देशमा समान हक र समान अवसर ल्याउन सङ्कल्प गर्ने नेपाली कांग्रेस पक्षपात र उचनीचको भावबाट सदा टाढा रहनेछु।
आफ्नो संस्थाको एकता त्यसको आदर्शमा विश्वास काममा अनुशासन कायम राखी निःस्वार्थपूर्वक काम बढायौँ भने सफलता स्वतः प्राप्त हुनेछ। यी कठिन समस्याहरू सफलतापूर्वक समाधान गर्न सक्नेछौं। हामीहरू नेपाली कांग्रेसका प्रत्येक कार्यकर्ताले निःस्वार्थ पूर्वक र त्याग, निष्पक्षता र सेवाका लागि क्रियाशील बन्न कबुल गरेका छौं।
फेरि पनि ती वीर आत्मा शहीदहरूको आदर्शलाई पछ्याउन प्रत्येक दिन तत्पर रहौँ। डराउने बानी हाम्रो छैन। हाम्रो प्रगतिमा तगारो बन्न कसैले पनि सक्तैन। भविष्य हाम्रो छ, देश हामी बनाउँछौं। हामी नै बनाउन सक्नेछौं।
जय नेपाल!
मंसिर २४ गतेदेखि काठमाडौंमा सुरु हुने नेपाली कांग्रेसको महाधिवेशनलाई केन्द्रित गरी हामीले कांग्रेसको इतिहाससँग सम्बन्धित सामग्रीहरु विभिन्न पुस्तकहरुबाट साभार गरेका छौं।
- सम्पादक
मंसिर २२, २०७८ बुधबार १७:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।