कृषि सहकारीलाई हेफर इन्टरनेशनलले दियो ४७ सवारी साधन

कृषि सहकारीलाई हेफर इन्टरनेशनलले दियो ४७ सवारी साधन

बुटवलः हेफर इन्टरनेशनल नेपालले कृषि सहकारीलाई कृषि ढुवानीका सवारी साधन प्रदान गरेको छ। रुपन्देहीको तिलोत्तमामा एक कार्यक्रमका बीच ४७ वटा सवारी साधन कृषि सहकारीलाई प्रदान गरिएको हो।

प्रदेश प्रमुख अमिक शेरचनले ती सवारीका चाबी सहकारीका सदस्यलाई हस्तान्तरण गरेका थिए।

कृषिजन्य उत्पादनको बजारीकरणको क्रममा नियमित ढुवानी सेवा उपलब्धता प्रमुख समस्या रहेको भन्दै त्यसको समाधानका लागि सहकारी तथा हेफर इन्टरनेशनलको आर्थिक साझेदारीमा ढुवानी साधनहरू सहकारीको स्वामित्वमा व्यवस्थापन गर्ने गरी प्रदान गरिएको हेफरका कार्यक्रम सञ्योजक अन्तराम सिलवालले जानाकारी दिए।

पहिलो चरणमा २८ वटा र हाल ४७ वटा गरी जम्मा ७५ वटा सवारी साधन कृषि सहकारीलाई प्रदान गरिएको उनको भनाइ छ। उक्त सवारी साधन २२ देखि २४ लाखका हुन्। त्यसमा सहकारी र हेफरको ५०÷५० प्रतिशत लगानी रहेको छ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले आर्थिक समृद्धिका लागि कृषिलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने भन्दै सवारी साधन सहकारीलाई प्रदानपछि बजारिकरणमा टेवा पुग्ने बताए। 

कार्यक्रममा आर्थिक योजना तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्रदेशलाई समृद्ध बनाउने अभियानमा सबैसँग सहकार्य गरेर अघि बढ्न सकिने बताए। कार्यक्रममा योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले दीगो विकास लक्ष्य प्राप्त हुने गरी कृषिलाई पहिलो प्राथमिकतामा राखेर योजना निर्माण गरिएको बताए। 

हेफरका कार्यकारी निर्देशक डा. तिर्थ रेग्मीले मूल्य श्रृङखलामा आधारित बजार प्रणाली विकास तथा प्रवर्द्धन गरी किसानको विकास गर्ने लक्ष्यअनुसार देशभर १ सय ६० संकलन केन्द्र तथा ५ सय २३ शाखा संकलन केन्द्रहरू स्थापना गरी दूध, तरकारी तथा खसीबोकाको बजारीकरण गर्दै आएको बताए। 

कार्यक्रममा माओवादी केन्द्रका सचेतक तुलाराम घर्ती, कांग्रेस सचेतक निर्मला क्षेत्री, एमाले सचेतक सरास्वती गौतम लगायतले बोलेका थिए।

मंसिर २२, २०७८ बुधबार १६:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।