विकास-निर्माणमा ढिलासुस्ती भएको भन्दै मुख्यमन्त्री कार्यालयमा ध्यानाकर्षण

बुटवल : बुटवल उपमहानगरपालिकाभित्र विकास-निर्माण सम्बन्धी काममा ढिलासुस्ती भएको भन्दै विभिन्न संस्थाहरुले मुख्यमन्त्री कार्यालयमा ध्यानाकर्षण गराएका छन्।
रुपन्देही व्यापार संघ, उद्योग संघ, बुटवल यातायात प्रालि, पश्चिमाञ्चल यातायात प्रालि, नुवाकोट विकास समिति, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, औषधि व्यवसायी संघ, ग्याँस बिक्रेता संघ सहितका २० वटा संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले हस्ताक्षर गरी विकास निर्माणमा भएको ढिलासुस्तीबारे मुख्यमन्त्री कार्यालयमा पुगेर ध्यानाकर्षण गराएका हुन्।
उनीहरुले यस क्षेत्रमा रहेका समस्या छिटो, छरितो समाधानमा संघीय, प्रदेश र स्थानीय सरकार उदासिन भएको समेत बताएका छन्।
बुटवलको चौराहादेखि गोलपार्कसम्मको सडक अस्तव्यस्त भएको भन्दै छिटो सम्पन्न गर्न संघ, प्रदेश र स्थानीय तहले चासो दिनुपर्ने संघसंस्थाको माग छ। त्यस बाहेक लामो समयदेखिको झुम्साको खानेपानी बुटवल ल्याउने योजना अपुरो रहेको, चुरे पहाड नियन्त्रणमा उपमहानगरपालिका गम्भीर नभएको भन्दै मुख्यमन्त्री कार्यालयमा ध्यानाकर्षण गराइएको रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनीले बताए।
चुरे पहाडको पहिरोले ज्योतिनगर, लक्ष्मीनगर, आदर्शनगर, जितगढी लगायतको क्षेत्रमा पारेको असरका सम्बन्धमा तीनै तहको सरकार समस्या समाधानमा उदासिन देखिएको उनको भनाइ छ।
उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष समुन्द्र जिसीले सडक निर्माण समयमै नहुँदा नागरिकले सास्ती खेप्नुपरेकोले यथाशीघ्र प्रशासन कार्यालयले समस्या समाधानका लागि पहल गर्नुपर्ने बताए।
औषधि व्यवसायी संघका अध्यक्ष सुरज भट्टराईले बुटवल अस्तव्यस्त हुँदा व्यापार व्यवसाय मात्र नभई जनताहरुले समेत सास्ती पाएकाले ध्यानआकर्षण पत्र बुझाउनुपरेको बताए।
२० वटा संघ–संस्थाहरुले बुधबारै सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेलाई भेटेर समेत ध्यानाकर्षण पत्र बुझाएका थिए।
ध्यानाकर्षण पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेले सडक निर्माण सम्बन्धमा सम्बन्धित ठेकेदार कम्पनीलाई बोलाएर आवश्यक निर्देशन दिइने बताए।
मंसिर २२, २०७८ बुधबार १६:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।