उम्मेदवारीको माहौल बनाउन पर्चा र सञ्जालमा सक्रिय रामचन्द्र

काठमाडौँ : फेसबुक, ट्विटर मात्रै हैन टिकटकतिर पनि अहिले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकै सक्रिय देखिएका छन्। काँग्रेस रूपान्तरण, आफ्ना योजना, रणनीति अनि नेतृत्व परिवर्तन किन ? यस्तै हुन्छ उनका सन्देश।
पार्टीमा सभापतिका आकाङ्क्षीमध्ये आफ्नो पक्षमा कमजोर माहौल देखेपछि पौडेलले पछिल्लो समय सचिवालय बनाएर आफ्नो विचार प्रवाह बढाउन लगाएका हुन्।
उनका सामाग्री ठ्याक्कै उम्मेदवारको नाराको शैलीमा छ। तर संस्थापनइतरमा सभापतिको उम्मेदवारमा उनको नाममा सहमति हुन नसक्दा प्रचार सामाग्रीमा १४ औँ महाधिवेशनका सभापतिका उम्मेदवार भने राख्न सकेका छैनन्।
१३ औँ महाधिवेशनमा शेरबहादुर देउवासँग सभापतिमा पराजित पौडेल सकेसम्म १४ औँमा पनि आफै उम्मेदवार बन्ने प्रयासमा देखिएका छन्। यदि आफ्नो नाममा सर्वसम्मत नभए पछि हटेर अन्यको नाममा सहमति गर्न उनी राजी देखिएका छन्। अर्का दाबेदार शशाङ्क कोइरालाले पनि सर्वसम्मतका लागि ब्याक भएको बताएका छन्। उनको जोड पौडेलको नाममा छ।
शेखर कोइराला र प्रकाशमान सिंह भने आफ्नै नाममा सहमति हुनुपर्ने, नभए उम्मेदवार बन्ने अडानमा देखिएका छन्। मङ्गलवार यही विषय टुङ्ग्याउन बसेको बैठकमा ४ बाट २ मा दाबेदार झरेकाले आज बुधवार बस्ने बैठकले जसरी पनि एक जना उम्मेदवार तोक्ने तयारी छ।
मंसिर २२, २०७८ बुधबार १३:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।