वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न श्रम मन्त्रालयले बनायो कार्यदल 

वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न श्रम मन्त्रालयले बनायो कार्यदल 

काठमाडौँ  : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आन्तरिक रोजगारको व्यवस्थापन तथा वैदेशिक रोजगारीका विद्यमान समस्या र चुनौतीहरूको सम्बोधन र व्यवस्थापनका लागि तीन वटा कार्यदल बनाएको जनाएको छ। 

मन्त्रालयले सीप विकास सम्बन्धी तालिमहरू एकीकृत संरचनामार्फत सञ्चालन गर्न, वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन, नीतिगत सुधार गर्न, श्रम कूटनीतिलाई प्रभावकारी बनाउन मन्त्रालयका सहसचिवहरूको नेतृत्वमा अध्ययन कार्यदल बनाएको विज्ञप्ति निकालेर जानकारी दिएको छ। 

उस्तै प्रकृतिका तालिमहरू फरक–फरक निकायबाट सञ्चालन हुने, एउटै व्यक्तिले विभिन्न तालिम लिने तर काम नपाउने समस्या रहेकोले त्यसको समाधानका लागि अध्ययन गर्न कार्यदल गठन गरिएको विज्ञप्तिमा उल्लेख छ। 

व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानका कार्यकारी निर्देशक बद्रीनाथ अधिकारीको संयोजकत्वमा विभिन्न मन्त्रालय र राष्ट्रिय योजना आयोगका प्रतिनिधि सम्मिलित ६ सदस्यीय कार्यदललाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ।

कार्यदलले तालिम कार्यक्रमहरू साबिकै संरचनामार्फत वा नयाँ संरचनामार्फत बनाउने भन्ने बारे सुझाव दिनेछ। 

देशभित्र रोजगारीको अवसर वृद्धि गर्ने, स्वरोजगारीका लागि प्रोत्साहित गर्न तथा सम्मानजनक वैदेशिक रोजगारीका लागि प्रतिस्पर्धी तथा सीपयुक्त जनशक्ति तयार गर्न आवश्यक योजनाहरूको बारेमा पनि कार्यदलले अध्ययन गरेर सुझाव दिने मन्त्रालयले जनाएको छ।

साथै मन्त्रालय र मातहतका निकायहरूको सङ्गठनात्मक संरचनाको अवस्थाबारे अध्ययन गर्न पनि कार्यदल बनाइएको छ। कार्यदलले वैदेशिक रोजगारी तथा श्रम कार्यालयहरू सहित मातहतका निकायहरूको कार्य बोझ, कार्य प्रगति र सुधारका सम्भावनाहरूको अध्ययन गर्नेछ। 

मन्त्रालयका सहसचिव रामचन्द्र ढकालको संयोजकत्वमा गठित ६ सदस्यीय कार्यदलले वैदेशिक रोजगार तथा श्रम कार्यालयका समस्या, चुनौती र समाधानका उपायहरूका साथै श्रम सहचारी नियुक्ति मापदण्डबारे सुझाव पेस गर्नेछ। कार्यदललाई १५ दिनको समय दिइएको छ। 

यसका साथै वैदेशिक रोजगार व्यवस्थापन तथा समग्र कार्य प्रणाली व्यवस्थित गर्न सहसचिव शेषनारायण पौडेलको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको छ। कार्यदलले वैदेशिक रोजगार नीति तथा कार्य योजना पुनरावलोकन र प्रभावकारी कार्यान्वयनको लागि सुझाव दिनेछ।

मंसिर २१, २०७८ मंगलबार २२:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।