
गगनले विमोचन गरे शंकरको 'कसले सुधार्छ कांग्रेस?' पुस्तक

काठमाडौँ : राजनीतिक विश्लेषक शङ्कर तिवारीको ‘कसले सुधार्छ कांग्रेस’ पुस्तक विमोचन भएको छ। कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका नेता गगन थापाले पुस्तक विमोचन गर्दै कांग्रेस कसले सुधार्छ भन्दा पनि कांग्रेस सुध्रिएन भने के हुन्छ भन्ने प्रश्न चिह्न खडा भएको बताए।
नेता थापाले आगामी निर्वाचनमा कांग्रेस क्रियाशील सदस्यता र कांग्रेसलाई यसअघि भोट हालेका बाहेक १५ लाख व्यक्तिलाई कांग्रेससँग जोड्ने गरी सङ्गठन विस्तारमा लाग्नुपर्ने उल्लेख गरे। पार्टी स्थापनाको समयमा कांग्रेसमा स्वतःस्फूर्त कार्यकर्ता थपिए पनि पछिल्लो समय पार्टीप्रति जनताको वितृष्णा पैदा हुँदै गएको थापाले बताए।
कांग्रेस केन्द्रीय सदस्य बद्री पाण्डेले विधानको अक्षरशः पालना, नियमित बैठक, समसामयिक विचार र वित्त व्यवस्थापन गर्ने नेतृत्वले मात्र कांग्रेस सुधार गर्न सक्ने बताए। उनले पार्टी सुध्रिए राजनीति सुध्रिने बताउँदै राजनीति सुध्रिए देश सुध्रिने उल्लेख गरे।
राजनीतिक विश्लेषक पुरन्जन आचार्यले विचार, सङ्गठन र नेतृत्वको सम्मिश्रणबाट पार्टी चल्नुपर्ने बताए।
विचार र नीति शून्य भयो भने पार्टी बिग्रिने उनको भनाई थियो। ‘कसले सुधार्छ कांग्रेस’भन्दा पनि कसले बिगार्यो कांग्रेस भन्नेबारे खोज्नुपर्ने बेला भएको उनले बताए।
मंसिर २१, २०७८ मंगलबार २०:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।