
सभापतिमा रामचन्द्र र शशाङ्क सफ्ट, शेखर र प्रकाशमानलाई सोच्न रातभरको समय

काठमाडौँ : नेपाली कांग्रेसको संस्थापनइतर समूहले बुधबारसम्म सभापतिको साझा उम्मेदवार तय गर्ने भएको छ।
पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीवारि निवासमा भएको संस्थापनइतर समूहको छलफलमा भोलि बेलुकासम्म सभापतिको साझा उम्मेदवार तय गर्ने सहमति भएको वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए।
संस्थापनइतर समूहबाट सभापतिका आकांक्षीहरुबीच भएको छलफलमा केही प्रक्रियागत कुरा मिलाउन बाँकी रहेको र भोलि बेलुकीसम्म साझा उम्मेदवार तय गर्ने सहमति भएको पौडेलले बताए।
‘अहिलेसम्म साझा उम्मेदवार को बन्ने भन्ने टुङ्गो नलागे पनि भोलि बेलुकासम्म टुङ्गोमा पुग्छौ,’पौडेलले उकेरासँग भने,‘केही प्रक्रियागत विषयहरू टुङ्गो लगाउनु पर्ने भएकाले भोलिसम्मको समय लिइएको हो।’
छलफलमा सभापतिका आकाङ्क्षी वरिष्ठ नेता पौडेल र महामन्त्री शशाङ्क कोइरालाले कांग्रेसलाई बलियो बनाउन शेरबहादुर देउवालाई हराउन सक्ने उम्मेदवार जो भन्दा पनि हुने बताएका थिए। छलफलमा सहभागी कांग्रेस कोषाध्यक्ष सितादेवी यादवले सभापतिका आकाङ्क्षीलाई रातभर सोच्न समय दिइएको बताइन।
‘उहाँहरूलाई रातभर सोचेर भोलि बिहान ९ बजेसम्म निष्कर्षमा पुग्न समय दिएका छौँ,’यादवले उकेरासँग भनिन्,‘सभापतिमा एक उम्मेदवार तय गरेपछि बाँकी पदाधिकारीबारे छलफल हुन्छ।’
रामचन्द्र र शशाङ्कले जसको नाममा सहमति भए पनि फरक नपर्ने बताएका छन्। तर, प्रकाशमान र शेखरले सभापतिको रेसबाट नबारिने अडान राखेका छन्। स्रोतका अनुसार शेखर र प्रकाशमान मध्ये एक जना सभापतिको उम्मेदवार बन्नेछन्।
नयाँ नेतृत्व चयन गर्न मङ्सिर २४ गतेदेखि सुरु हुने महाधिवेशनमा संस्थापन समूहबाट सभापतिमा शेरबहादुर देउवा आफै उम्मेदवार बन्दै छन् भने उनकै समूहका विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिन घोषणा गरेका छन्।
तर, संस्थापनइतर समूहले भने महाधिवेशन सुरु हुने तीन दिन अगाडिसम्म आफ्नो समूहबाट सभापतिको एक जना साझा उम्मेदवार तय गर्न सकेको छैन। सभापतिको साझा उम्मेदवार तय गर्ने छलफलमा निष्कर्षमा नपुगेको कोषाध्यक्ष यादवले बताइन। संस्थापनइतर समूहबाट वरिष्ठ नेता पौडेल, महामन्त्री शशाङ्क कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र शेखर कोइराला सभापतिका आकाङ्क्षी छन्।
प्रकाशमान सिंहले मंगलबार सम्पर्क कार्यालय खोलेर प्रचार सुरु गरेकाले अब ब्याक हुन नसक्ने अडान राखेका थिए। शेखरले पनि सभापतिमा आफ्नो उम्मेदवारी कायम रहने अडान राखेका थिए।
कांग्रेसको ६ वटा प्रदेशमा भएको अधिवेशनमा दुईमा मात्रै जित हात पारेको संस्थापनइतर समूहलाई साझा उम्मेदवार बनाउन कांग्रेसका युवा नेताहरूले दबाब दिइरहेका छन्।
‘हामी जिल्ला सभापति, पूर्व जिल्ला सभापतिहरू, क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधिहरूको भेला आयोजना गरेर उनीहरूका सुझाव सभापतिका आकांक्षीहरुलाई राख्न लाउँछौ,’केन्द्रीय सदस्य धनराज गुरुङले भने, ‘त्यसमा उहाँहरू सहमति हुनुभएन भने युवाहरूले नै तपाईँहरूमध्ये फलानो उम्मेदवार बन्नुस्। बाँकी अहिलेलाई मौन बस्नुस् भन्छौ।’
संस्थापनइतर समूहलाई साझा उम्मेदवार तय गर्न दबाब दिएका कांग्रेसका युवा नेताहरूले आकाङ्क्षीहरू सहमत नभए गोप्य मतदान गराउने तयारी समेत गरेको एक नेताले बताए।
‘उहाँहरू आफै बलियो छु, मै उम्मेदवार बन्नुपर्छ भनेर अडान राख्दै जानुभयो भने हामी गोप्य मतदान गराएर को लोकप्रिय छ भन्ने छर्लङ्ग बनाएर भए पनि निर्णयमा पुग्ने तयारीमा छौँ ।’ ती नेताले भने।
मंसिर २१, २०७८ मंगलबार १९:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।