
कमल थापाले पूर्व राजा ज्ञानेन्द्रको निन्दा गर्दै भने : अन्य पार्टीमा पनि हस्तक्षेप होला

'राजसंस्था स्थापित हुँदा अन्य पार्टी र राजनीतिमा राजाको हस्तक्षेप हुँदैन भनेर भन्ने हाम्रो नैतिक धरातल समाप्त भएको छ,' उनले विज्ञप्तिमा भनेका छन्' विगतमा झैँ राजाबाट प्रजातन्त्र र प्रजातान्त्रिक संस्थामा हस्तक्षेप हुँदैन भनेर अब हामीले कुन मुखले भन्ने?'
उनले आफू धर्म सङ्कटमा परेको भन्दै राजसंस्थाका बारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाका बारेमा राप्रपा भित्र बहस सुरु हुने बताएका छन्।
'देशमा राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरण गर्न सक्ने शक्ति वा राजनीतिक दलको रूपमा होइन, राप्रपालाई ‘भजन मण्डली’ बनाउने गलत नियत राखेर मलाई राजनीतिक रूपमा समाप्त पार्न खोजिएको तथ्य स्पष्ट छ । राप्रपालाई ‘भजन मण्डली’ बनाउने निर्मल निवासको योजना हामी कहिल्यै सफल हुन दिने छैनौँ,' उनले विज्ञप्तिमा भनेका छन्।
उनले लेखेका छन्' केन्द्रीय नेतृत्वको निर्वाचनमा निर्मल निवास र पूर्व राजा ज्ञानेन्द्रको नाङ्गो हस्तक्षेपको भने म घोर भर्त्सना र निन्दा गर्दछु।'
विज्ञप्तिको पूर्ण पाठ
राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन भव्यताका सत्ता सम्पन्न भएको छ। महाधिवेशन सफल तुल्याउन सहयोग गर्नुहुने सबैमा हार्दिक आभार व्यक्त गर्दछु। महाधिवेशनबाट निर्वाचित अध्यक्ष राजेन्द्र लिङदेन लगायत सम्पूर्ण पदाधिकारी र सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको निम्ति शुभकामना व्यक्त गर्दछु।
महाधिवेशनले पार्टी एकताको पक्षमा सशक्त मार्ग निर्देशन गरेको छ। विगतमा पटक पटक विभाजनको पिडा भोगेको हुँदा भविष्यमा पार्टी कहिल्यै फुट्नु हुँदैन भन्ने महाधिवेशनको स्पष्ट सन्देश र सङ्कल्प रहेको छ। अध्यक्ष पदमा पराजयका बाबजुद पार्टी एकताको पक्षमा मेरो निरन्तर सकारात्मक सहयोग रहने छ।
केन्द्रीय नेतृत्वको निर्वाचनमा निर्मल निवास र पूर्व राजा ज्ञानेन्द्रको नाङ्गो हस्तक्षेपको भने म घोर भर्त्सना र निन्दा गर्दछु। फेरि यो पहिलो घटना होइन। २०७४ सालमा पार्टी फुटाउन र विगत केही समय यता तथाकथित भजन मण्डली खडा गरेर पार्टी नेतृत्वको चरित्रहत्या गर्ने र राप्रपाका बारेमा भ्रम सिर्जना गर्ने गराउने कार्य निर्मल निवासबाट बारम्बार हुँदै आएको सर्वविदित छ।
मेरो यो अभिव्यक्तिलाई चुनावमा हार पछिको आक्रोशको रूपमा नबुझी दिन सबैमा विनम्र आग्रह गर्दछु। एउटा खेलाडी भएको नाताले हार वा जीतले मेरो लागि कुनै अर्थ राख्दैन। हारलाई पनि सहर्ष स्वीकार गरेर फेरि अर्को प्रतिस्पर्धाको निम्ति तयार रहने संस्कार मेरो रगतमा रहेको छ।
तर, पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको अवाञ्छित र अमर्यादित हस्तक्षेपले राजसंस्था सम्बन्धी मेरो र राप्रपाको आधारभूत मान्यता माथि नै गम्भीर आघात पुगेको छ।
नेपालको भूराजनीतिक अवस्था तथा धार्मिक, सामाजिक र सांस्कृतिक परिवेशमा राष्ट्रियता र एकताको प्रतीकको रूपमा राजनीति भन्दा माथि उठेको साझा संस्थाको रूपमा राजसंस्था हुनु उपयुक्त हुन्छ भन्ने हाम्रो मान्यता हो र रही रहने छ।
राप्रपाले परिकल्पना गरेको राजसंस्था एउटा आदर्श अभिभावकको रूपमा रहने सम्मानित संस्था हो। चुनावी राजनीति भन्दा माथि उठेको सम्पूर्ण नेपालीहरूको साझा र तटस्थ संस्थाको रूपमा हामीले राजसंस्थाको वकालत गरेका हौँ।
अहिले शतप्रतिशत राजावादीहरू भएको पार्टीमा त राजाको ठाडो र फोहरी हस्तक्षेप (यस सम्बन्धी यथेष्ट प्रमाण हामीसँग सुरक्षित छ) हुन्छ भने भोलि राजसंस्था स्थापित हुँदा अन्य पार्टी र राजनीतिमा राजाको हस्तक्षेप हुँदैन भनेर भन्ने हाम्रो नैतिक धरातल समाप्त भएको छ।
विगतमा झैँ राजाबाट प्रजातन्त्र र प्रजातान्त्रिक संस्थामा हस्तक्षेप हुँदैन भनेर अब हामीले कुन मुखले भन्ने ?
अत्यन्त प्रतिकुल अवस्था पनि राजसंस्थाको एजेन्डा बोकेर हिँडेको म र राप्रपालाई अहिले परेको पिर यही हो। म नैतिक र धर्मसंकटमा परेको छु।
यसै गरी देशमा राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरण गर्न सक्ने शक्ति वा राजनीतिक दलको रूपमा होइन, राप्रपालाई ‘भजन मण्डली’ बनाउने गलत नियत राखेर मलाई राजनीतिक रूपमा समाप्त पार्न खोजिएको तथ्य स्पष्ट छ। राप्रपालाई ‘भजन मण्डली’ बनाउने निर्मल निवासको योजना हामी कहिल्यै सफल हुन दिने छैनौँ।
राजसंस्थाका बारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाका बारेमा अब राप्रपा भित्र बहस सुरु हुनेछ।
मंसिर २१, २०७८ मंगलबार १६:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।