कांग्रेस महाधिवेशन: प्रतिनिधिको सूची प्राप्त नभएपछि प्रदेश २मा अधिवेशन स्थगित

धनुषाः नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश २को अधिवेशन स्थगित गरिएको छ। जनकपुरमा आज पत्रकार सम्मेलन गर्दै पार्टीको प्रदेश महाधिवेशन आयोजक समितिका सञ्योजक रमेश रिजालले अधिवेशन स्थगित भएको जानकारी दिएका हुन्।
प्रदेश २को अधिवेशन अब केन्द्रीय महाधिवेशनपछि मात्र गरिने उनले बताए। प्रदेश २का ८ जिल्लामा ३२ निर्वाचन क्षेत्र छन्। सर्लाही, बारा, सप्तरी र रौतहटबाट प्रतिनिधिको सूची प्राप्त नभएको निर्वाचन समितिले जनाएको छ।
निर्वाचन अधिकृत पह्लाद गौतमका अनुसार सर्लाहीका ४ निर्वाचन क्षेत्र, बाराको प्रदेश निर्वाचन क्षेत्र २ (ख), सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४ र रौतहटको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि छनोट हुन सकेको छैन।
प्रदेश २ को सभापतिका लागि रौतहटकी कृष्णा यादव र प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रामसरोज यादवले उम्मेदवारी घोषणा गरिसकेका छन्।
मंसिर २०, २०७८ सोमबार २०:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।