बैतडीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ६ घाइते

बैतडीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ६ घाइते

बैतडीः सोमबार साँझ जिल्लाको पाटन नगरपालिका-१ सकार थलीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। सोही दुर्घटनामा परी ६ जना घाइते समेत भएका छन्। 

पाटन बजारबाट कैलपाल जाँदै गरेको से१ज ८८८ नम्बरको जीप दुर्घटना हुँदा मृत्यु हुनेमा सोही स्थानका १३ वर्षीय विनोद भट्टराई, ७२ वर्षीया रमा भट्टराई, ठेगाना नखुलेका २४ वर्षीय प्रेम चुनारा र २० वर्षीया मनिषा विक रहेका ईलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज प्रहरी निरीक्षक राजेश शाहीले बताए।

यस्तै दुर्घटनामा पाटन नगरपालिका–१ सकारका ओमप्रकाश भट्टराई, जानकी भट्टराई, दीपक भट्टराई, मानध्वज भट्टराई, विष्णु भट्टराई र गोविन्द विक घाइते भएका छन्। जीपमा चालकसहित ११ जना सवार रहेका प्रहरीले जनाएको छ।

घाइतेहरूको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

जीप सडकबाट १०० मिटर तल खसेको थियो। चालक पाटन– ५ वसन्तपुरका खेमराज पाण्डेय फरार रहेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ। 

मंसिर २०, २०७८ सोमबार २०:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।