नीति बनाउँदा निजी क्षेत्रको प्रतिनिधित्व आवश्यक: ढकाल

बुटवलः नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलक्षित नीति बनाउँदा निजी क्षेत्रको प्रतिनिधित्व भए कार्यक्रम कार्यान्वयनमा सहज हुने बताएका छन्। बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको ६८औं वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन्।
‘नीति बनाउँदा हाम्रो सुझाव, सल्लाह लिने हो भने निजी क्षेत्रले त्यसको अपनत्व लिन्छ र कार्यान्वयनमा सहज हुन्छ’, उनले भने।
बुटवलमा बमघाट–वसन्तपुर केवलकार निर्माण समेत सुरु गरेका ढकालले केवलकार निर्माणपछि रुपन्देहीको पर्यटन उद्योग फस्टाउने समेत बताए। लुम्बिनीसँग जोडिएका पर्यटकीय स्थलहरूको प्रचारप्रसारमा केवलकार निर्माणपछि अझ टेवा पुग्ने उनको भनाइ थियो।
संघका अध्यक्ष उज्वलप्रसाद कसजूले बुटवल आर्थिक केन्द्रको रूपमा विकास भएको बताउँदै अब आर्थिक समृद्धिमा रुपन्देहीले हिस्सा ओगट्ने बताए।
प्रदेश संरचना स्थापना र प्रदेशको स्थायी राजधानीको लागि संघले आफ्नो भवन सरकारलाई उपलब्ध गराएको स्मरण गर्दै स्थायी राजधानी कायम हुन नसके पनि बुटवल प्रदेशको आर्थिक केन्द्र बनेको बताए।
बुटवलका मेयर शिवराज सुवेदीले बुटवलमा व्यवसायीमैत्री, लगानीमैत्री र रोजगारमैत्री वातावरण बनाएको जिकिर गरे। निजी क्षेत्रसँगको सहकार्यबिना विकास सम्भव नभएको बताउँदै उनले बुटवलले निजी क्षत्रलाई अगाडि लगाएर विकासका पाइला चालेको बताए।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश अध्यक्ष दिलसुन्दर श्रेष्ठ, संघका पूर्वअध्यक्ष जीवनप्रसाद वझा, नेपाल उद्योग वाणिज्य महासंघ उद्योग समिति सभापति भरत आचार्य, नेपाली कांग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डे, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी लगायतले बोलेका थिए।
सो अवसरमा संघले कोभिड हेल्प डेस्कमा बसेर स्वास्थ्य परामर्श गरेका डाक्टरहरू द्वारिका प्रधान, सुशील श्रेष्ठ र सुशान्त श्रेष्ठलाई सम्मान गरेको थियो।
मंसिर २०, २०७८ सोमबार १८:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।