
अनेरास्ववियूले सुरु गर्यो संगठन विस्तार महाअभियान
बुटवल: नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूले सोमबार 'संगठन विस्तार तथा सदस्यता वितरण महाअभियान २०७८' सुरु गरेको छ। अभियानअन्तर्गत सांगठनिक रूपमा कमजोर रहेका तराईका क्षेत्रमा संगठन विस्तार गरिने भएको छ।
अनेरास्ववियू केन्द्रीय संगठन विभागले आजदेखि सुरु गरेको महाअभियानको काठमाडौंमा त्रिचन्द्र क्याम्पसमा पार्टी महासचिव शंकर पोखरेलले शुभारम्भ गरेका थिए।
अनेरास्ववियूका केन्द्रीय उपाध्यक्ष यमराज पाण्डेका अनुसार तराई-मधेश क्षेत्रबाट रुपन्देहीले पहिलो पटक अभियान सुरु गरेको हो।
रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं. २ स्थित जोगडा माध्यमिक विद्यालयबाट महाअभियान सुरु गरिएको थियो। नेकपा एमाले केन्द्रीय सदस्य तथा अनेरास्ववियूका पूर्वअध्यक्ष खिमलाल भट्टराईले अभियानको सुरुआत गरेका हुन्।
नेता भट्टराईले तराई क्षेत्रमा विद्यार्थीको हकहित र शिक्षालाई गुणस्तरिय बनाउन अनेरास्ववियू उदाएको बताए। विद्यार्थीहरू आवश्यक शिक्षाबाट वञ्चित भएको बताउँदै उनले शिक्षाको विकाससँगै विद्यार्थीमा जागरुकता ल्याउन अनेरास्ववियूले महाअभियान सुरु गरेको बताएका थिए।
अभियान रुपन्देहीका क्याम्पस तथा माध्यमिक विद्यालयमा केन्द्रीत हुने र २५ हजार विद्यार्थी सदस्यता बनाइने अनेरास्ववियू रुपन्देहीका सचिव प्रकाश पराजुलीले बताए।
कार्यक्रममा बोल्दै अनेरास्ववियूका केन्द्रीय उपाध्यक्ष यम पाण्डेले शहरमा मात्र नभई गाउँगाउँमा अनेरास्ववियू विगुल फुक्न निस्केको बताए।
कार्यक्रममा नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य राजु बेलाल, अनेरास्ववियू रुपन्देहीका अध्यक्ष शेषकान्त पोखरेल तथा अनेरास्ववियू केन्द्रीय सचिवालय सदस्यहरू बालकृष्ण पाण्डे, लेखनाथ भुसाल, केन्द्रीय सदस्यहरु नवीन थापा सारु, कृष्णप्रसाद बस्याल, सीमा घिमिरे, साजन भण्डारीलगायतले मन्तव्य राखेका थिए।
महाअभियानको सुरु गरिएको जोगडा माध्यमिक विद्यालयमा २ सय १० सदस्यीय संगठन विस्तार गरिएको बताइएको छ।
मंसिर २०, २०७८ सोमबार १८:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।