कांग्रेस सभापति देउवाले भने : हामी त्यो पक्षमा छैनौ

कांग्रेस सभापति देउवाले भने : हामी त्यो पक्षमा छैनौ

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी सभापतिमा सहयोग गर्न आग्रह गरेका छन्।

प्रधानमन्त्री समेत रहेका देउवाले सरकारी निवास बालुवाटारमा पत्रकारहरूसँग कुरा गर्दै सभापति पदमा सहयोग गर्न आग्रह गरेका हुन्। 

कांग्रेसको विधानले तेस्रो पटक सभापति बन्न नदिने व्यवस्था गरेको भन्दै देउवाले अन्तिम पटक पार्टी सभापतिमा आफ्नो पक्षमा सहयोग गर्न आग्रह गरे। ‘यो अन्तिम पटक हो, मैले फेरि अर्को पटक सभापति हुन पाउँदिन,’देउवाले भने,‘यस पटकलाई सहयोग गर्नुपर्यो।’ 

उनले पार्टी दोस्रो पटक पार्टी सभापतिमा निर्वाचित भएर कांग्रेसलाई पहिलेको जस्तै बलियो पार्टी बनाउने बताए। उनले कांग्रेस महाधिवेशनमा प्रतिपक्षी एमालेको जस्तो जनतालाई दुख दिएर शक्ति प्रदर्शन गर्ने पक्षमा नरहेको बताए।

‘कांग्रेस आफ्नो महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा छैन। एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइनन्,’देउवाले भने,‘अहिले कोरोनाको नयाँ भेरिअन्ट आइसकेको छ। त्यसैले कांग्रेसले त्यो जोखिम मोल्दैन।’

उनले कांग्रेस उदार पार्टी भएको बताउँदै कसैलाई दुख दिन नचाहने बताए। ‘कांग्रेस उदार पार्टी हो, कसैलाई दुःख दिन चाहँदैन,’देउवाले भने,‘हामी पनि झापादेखि मान्छे ल्याएर उतार्न सक्छौ। तर त्यसले जनतालाई दुःख हुन्छ। महामारी फैलिन सक्छ। हामी त्यो पक्षमा छैनौँ।’

मंसिर २०, २०७८ सोमबार ११:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।