कांग्रेस प्रदेश अधिवेशन : लुम्बिनीमा १७ मत खसेन 

कांग्रेस प्रदेश अधिवेशन : लुम्बिनीमा १७ मत खसेन 

बुटवल : नेपाली कांग्रेस लुम्बिनी प्रदेशको नेतृत्व चयनका लागि भएको मतदानमा १ हजार ६३१ मत खसेको छ। बिहान ११ बजेबाट भैरहवाको महेन्द्र सभा गृहमा भएको मतदानमा १ हजार ६३१ मत खसेको निर्वाचन समितिका सदस्य जीवनारायण अधिकारीले जानकारी दिए। 

लुम्बिनी प्रदेशका १२ जिल्लाबाट १ हजार ६४८ जना प्रतिनिधिको मतदाता नामावली प्रकाशन भएको थियो। १७ जना मतदाता नेतृत्व चयनका लागि भएकाे मतदानमा सहभागी भएनन्। 

मतगणना गर्ने समय भने निश्चित भइसकेको छैन। प्रदेश अधिवेशनमा संस्थापन पक्षका भरत कुमार शाह र इतर समूहका अमर पुनले छुट्टा छुट्टै प्यानल बनाएर उम्मेदवारी दिएका छन्। यसअघि जिल्लाको मतगणना हुँदा भएको घटनालाई मध्यनजर गर्दै मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।

अधिवेशनले १ जना सभापति, २ उपसभापति, २ महामन्त्री, १ महिलासहित ३ सहमहामन्त्री गरी ९ जना पदाधिकारी चयन गर्नेछ।

यस्तै प्रत्यक्ष सदस्य तर्फ जिल्लागत रूपमा १२ जिल्लाबाट १२ महिला सहित २४ जना र खुल्लामा ५ महिला सहित १७ जना चयन हुनेछन् ।

समावेशी सदस्यमा खस आर्यतर्फ ४ महिला सहित ८ जना, आदिवासी जनजातिमा २ महिला सहित ५ जना, मधेसीमा २ महिला सहित ४ जना, दलितमा २ महिला सहित ४ जना, थारु २ महिला सहित ४ जना, मुस्लिम १ महिला सहित २ जना र अल्पसङ्ख्यक वा अपाङ्ग मध्ये १ जना गरी जम्मा ६९ जनाको कार्यसमिति प्रदेश अधिवेशनले निर्वाचित हुनेछन् ।

मंसिर १८, २०७८ शनिबार २१:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।