
जावलाखेलमा मिश्रको दाबी : चाँडै विवेकशील साझाका राष्ट्रप्रमुखले भोटो देखाउनुहुनेछ’

ललितपुर : हरेक वर्ष रातो मछिन्द्रनाथको जात्रामा भोटो देखाउन प्रयोग हुने जवलाखेलको मैदानमा सभा गर्दै विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले विवेकशील साझाका राष्ट्रप्रमुखले निकट भविष्यमै भोटो देखाउने दाबी गरे।
राजतन्त्र रहेसम्म राजाले भोटो देखाउँथे। गणतन्त्र आएपछि राष्ट्रपतिले भोटो देखाउँछन्। उनले संवैधानिक राजाले भोटो देखाउने दाबी गरेका हुन् या चुनाव जितेर साझाका राष्ट्रपतीले भोटो देखाउने त्यो भने प्रस्ट्याएनन्।
उनले भने 'तपाईँहरूको साथ र सहयोग रह्यो भने निकट भविष्यमा विवेकशील साझाका राष्ट्रप्रमुखले यही भोटो देखाउनुहुनेछ।’
देश रूपान्तरण गर्ने विवेकशील साझाले मात्र सम्भव रहेको दाबी गर्दै उनले अहिले आफ्नो पार्टीले अगाडि सारेको विचारलाई उडाउनु पञ्चायत ढल्छ, राजतन्त्र ढल्छ अनि माओवादी सत्तामा आउँछ भन्दा हाँसेर उडाए जस्तै भएको दाबी गरे।
ठुलो पार्टी बनाउन समान सोच राख्ने विभिन्न शक्तिहरू एक ठाउँमा आउनुपर्ने र वृहद हस्तक्षेपकारी शक्ति निर्माण गर्नुपर्ने उनले बताए।
साझाले सिटिजन्स डिस्कशन फोरम र राष्ट्रिय जनता दरबार पार्टीसँग एकता गरेको हो। यी पार्टी सङ्घीयताको विपक्षमा रहेका दल हुन्। पछिल्लो समय साझामा पनि वैचारिक विवाद चर्किएको छ। त्यही विवादका कारण सभामा मिलन पाण्डे समूह आएन। कार्यक्रममा तीनै दलका अध्यक्षले घोषणा पत्र जारी गरेका थिए।
मंसिर १८, २०७८ शनिबार १५:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।