
पार्टी फुटाउने सङ्केत गर्दै कमल थापाले भने : ‘काँचो नेतृत्वबाट सचेत रहौँ’

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको अध्यक्षका उम्मेदवार कमल थापाले ‘काँचो नेतृत्व’बाट सचेत रहौँ भनेका छन्।
राप्रपाको नयाँ नेतृत्व चयन गर्न मतदान चलिरहँदा अध्यक्षका उम्मेदवार थापाले पशुपति शमशेर राणाले एकताको पक्षमा गरेको त्यागलाई निहित स्वार्थका निम्ति दुरुपयोग गरेको आरोप लगाएका छन्।
राप्रपाका तीन अध्यक्ष मध्ये राणा र डा. प्रकाशचन्द्र लोहनीले उम्मेदवारी दिएनन्। थापा राप्रपाबाट प्रतिनिधि सभामा निर्वाचित एक मात्र सांसद राजेन्द्र लिङदेनसँग अध्यक्षमा प्रतिस्पर्धा गरिरहेका छन्।
उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्,‘राप्रपा अध्यक्ष पशुपति शमशेर जबराले पार्टी एकताको पक्षमा गर्नुभएको त्यागलाई निहित स्वार्थका निम्ति दुरुपयोग गर्नु निन्दनीय छ। काँचो नेतृत्वबाट सचेत रहौँ।’
उनले आफले राजेन्द्र लिङदेनको पक्षमा अपिल गरेको भन्ने कुरा झुट भएको प्रस्टीकरण दिएका छन्। थापाले पक्षमा नभई विपक्षमा भोट नहाल्ने सूचि महाधिवेशन प्रतिनिधिको झोलामा राखेकाबारे भने केही लेखेका छैनन्।
उनले लिङदेनलाई काँचो नेतृत्वको संज्ञा दिएका छन्। एकता महाधिवेशनमा अब राप्रपा नफुट्ने बताएका थापाले लिङदेनलाई काँचो नेतृत्व भनेर आफू पराजय भए स्वीकार नगर्ने सङ्केत दिएका छन्। कसैको पक्षमा नखुलेका पशुपति शमशेर राणालाई समेत उनले स्वार्थका लागि त्याग गरेको आरोप लगाएका छन्।
मंसिर १८, २०७८ शनिबार १४:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।