
भोट दिएपछि लोहनीको प्रतिक्रिया : सहमति भएन

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेतृत्व चयनमा सहमति नभएपछि चुनाव भएको बताएका छन्। ‘सहमति भएन, विकल्प के?,’लोहनीले भने,‘२१ औँ शताब्दीको विधि र प्रक्रिया भनेको चुनाव नै हो।’
राप्रपाको नयाँ केन्द्रीय कार्यसमिति चयन गर्न काठमाडौँको भृकृटिमण्डपमा मतदान भइरहेको छ। मतदान गरेपछि राप्रपाका पूर्वअध्यक्ष लोहनीले विधि र प्रक्रिया अनुसार चुनाव भएको महाधिवेशन प्रतिनिधि त्यसमा सार्वभौम रहेको बताए।
राप्रपाको अध्यक्षमा कमल थापा र राजेन्द्र लिङदेनबीच प्रतिस्पर्धा भएको छ। अध्यक्ष बाहेकका पदको मतदान विद्युतीय भोटिङ मेसिनबाट भइरहेको छ। ४ हजार ४६९ प्रतिनिधि मध्ये अहिलेसम्म ८ सय जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ।
उनले अबको नेतृत्वले राप्रपाको एजेन्डा बोकेका सबैलाई सहमतिमा ल्याउनु पर्ने बताए। ‘जित हार सुकै भए पनि नेतृत्व चयन गर्न देशभरका प्रतिनिधि सार्वभौम छन्,’लोहनीले भने,‘मतदाताको म्यान्डेट मानेर जानुपर्ने हाम्रो कर्तव्य हो।’
अबको नेतृत्व कस्तो चयन गर्ने भन्ने अधिकार ४५ सय प्रतिनिधिमा रहेको उनले बताए। उनले महाधिवेशनमा राजनीतिक र आर्थिक कार्यपत्र प्रस्तुत गरेर राप्रपाको अबको एजेन्डा प्रस्ट पारेको उल्लेख गरेको बताए।
मंसिर १८, २०७८ शनिबार १४:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।