कांग्रेसको प्रदेश अधिवेशन : गण्डकीमा सात सदस्य निर्विरोध निर्वाचित

पोखरा : नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिमा सात सदस्य निर्विरोध निर्वाचित भएका छन्। प्रदेश समिति चयनका लागि शुक्रबार उम्मेदवारी दिएका मध्ये सात सदस्य निर्विरोध निर्वाचित भएका निर्वाचन अधिकृत कृष्णबहादुर थापाले जानकारी दिए।
थापाका अनुसार पुष्पा भट्टचन मुस्ताङ, मायादेवी राना आले तनहुँ, मिनाकुमारी केसी पर्वत, चिउदे लामा मनाङ निर्विरोध निर्वाचित भएका छन्। यस्तै प्रत्यक्ष खुल्ला सदस्यमा लक्ष्मीप्रसाद आचार्य तनहुँ, सुवर्ण कुमार विष्ट मुस्ताङ र विनोद गुरुङ मनाङ निर्विरोध भएका छन्।
निर्वाचन समितिका कार्यालय सचिव भगवान अधिकारीले सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री सहितका अरू पदमा चुनाव हुँदै छ। उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर मतदानको तयारी सुरु भएको अधिकारीले बताए।
गण्डकी प्रदेशको सभापतिमा अर्जुन जोशी र शुक्रराज शर्माबीच प्रतिस्पर्धा हुने भएको छ। जोशीले संस्थापन समूहबाट र शर्माले संस्थापनइतर समूहबाट प्यानलसहित उम्मेदवारी दर्ता गराएका हुन्।
जोशीको प्यानलबाट उपसभापतिमा मेखलाल श्रेष्ठ र नेत्र महत, महामन्त्रीमा कुमार खड्का र ईश्वर पाण्डे, सहमहामन्त्रीमा राजनराज पन्त, झुलबहादुर राना र ओमकला गौतमले उम्मेदवारी दर्ता गरेका छन्।
शर्माको प्यानलबाट सभापतिमा कल्पना तिवारी र हरिप्रसाद श्रेष्ठ, महामन्त्रीमा विष्णु लामिछाने र किरणबाबु श्रेष्ठ, सहमहामन्त्रीमा रामचन्द्र जोशी, रमेश पाण्डे र कोपिला रानाभाटले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन समितिले गण्डकी प्रदेशमा १ हजार १६० मतदाता रहेको जनाएको छ।
मंसिर १८, २०७८ शनिबार ०९:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।