बागमती प्रदेश : जनजातिले अल्पसङ्ख्यकमा दिएको उम्मेदवारी रुद्ध 

बागमती प्रदेश : जनजातिले अल्पसङ्ख्यकमा दिएको उम्मेदवारी रुद्ध 

हेटौँडा : नेपाली कांग्रेस बागमती प्रदेश कार्य समितिको अल्पसङ्ख्यक सदस्यमा उम्मेदवारी दिएका आदिवासी जनजातिको मनोनयन रुद्ध भएको छ।

जनजाति कोटामा उम्मेदवारी दर्ता गर्नु पर्नेमा अल्पसङ्ख्यकमा दर्ता गरेकाले रुद्ध गरिएको मतदान अधिकृत कृष्ण अर्यालले जानकारी दिए। 

आदिवासी जनजातिले अल्पसङ्ख्यकमा उम्मेदवारी दिएपछि निर्वाचन समितिमा विवाद भएको थियो। ‘खासै ठुलो विषय होइन, उहाँको उम्मेदवारी रुद्ध हुन्छ,’अर्यालले उकेरासँग भने,‘उहाँले खुल्लामा राखिदिनु न भन्नु भएको थियो, हामीले मिल्दैन भन्यौ।’ 

बागमती प्रदेश कार्यसमितिको सभापति सहित सबै पदमा चुनाव हुने भएको छ। अर्यालका अनुसार एक जना पनि निर्विरोध निर्वाचित नभएकाले सबै पदमा चुनाव हुन लागेको हो। केहीबेरमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने उनले बताए।

पहिलो राउन्डमै जित्ने दाबी  

सभापतिमा इन्द्र बानियाँ, जगदिश्वरनरसिंह केसी र भीमसेनदास प्रधानले उम्मेदवारी दिएका छन्। सभापतिमा उम्मेदवारी दिएका केसीले आफ्नो पक्षमा माहोल राम्रो रहेको भन्दै पहिलो राउन्डमै चुनाव जित्ने दाबी गरेका छन्। ‘निष्ठा र आदर्शको राजनीति जोगाऔँ भनेर उम्मेदवारी दिएको हो,’केसीले उकेरासँग भने,‘पार्टीको आन्तरिक लोकतन्त्र बलियो बनाउने, पार्टी सङ्गठनलाई व्यवस्थित र पारदर्शी बनाउने, क्रियाशील सदस्यलाई योगदानमा आधारित बनाइ नियमित पुनरावलोकन र अद्यावधिक गराउने छु।’ 

उनले स्वास्थ्य, शिक्षा, पूर्वाधार लगायत सामाजिक उत्तरदायित्वका विषयमा पार्टी सङ्गठनलाई क्रियाशील गरी जनस्तरमा पार्टीको सम्बन्ध विकसित तुल्याउने र पछाडि परेका हरेक क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने योजना पनि सुनाए। 

यस्तै, सभापतिका अर्का उम्मेदवार बानियाँले आफ्नो पक्षमा माहोल बनेको दाबी गरेको छ।  ‘माहोल हाम्रो पक्षमा छ, आन्तरिक तयारी राम्रो छ,’बानियाँको सचिवालयले भन्यो,‘दाइ निर्वाचन समितिसँग व्यस्त हुनुहुन्छ।’      

यस्तै सभापतिका उम्मेदवार प्रधानले आफ्नो पक्षमा काठमाडौँबाट ६० प्रतिशतभन्दा बढी भोट आउने दाबी गरेका छन्। ‘काठमाडौँको सदस्य सचिव हुँदै अध्यक्ष पनि भएको हुँ,’प्रधानले उकेरासँग भने,‘क्रियाशील भइरहँदा माहोल राम्रो बनेको छ।’ 

रामेछाप, दोलखा धादिङमा राम्रो पकड रहको प्रधान पक्षको बुझाई छ। मकवानपुरमा प्रभाव कम रहको र चितवनमा भन्न नसकिने अवस्था रहेको प्रधान समूहको बुझाई छ। 

‘मैले पहिलेदेखि संविधान अनुसार नै प्रदेशमा नै दाबी गरेको हुँ, केन्द्रीय सदस्य कम प्राथमिकता परेको हो,’प्रधानले भने,‘गणेशमान सिंहको जन्मजयन्तीमा पार्टी सभापति शेरबहादुर देउवालाई साक्षी राखेर उम्मेदवारी दिएको हुँ, माहोल मेरो पक्षमा छ।’ 

बागमतीलाई सुन्दर बनाउने गुरुयोजना, पालिकालाई प्रदेश मातहतमा राखेर काम गर्ने, गुठी व्यवस्थापन गर्ने लगायतका भिजनहरू रहेको र सो कार्यान्वयन गर्ने प्रतिबद्धता  पनि प्रधानले गरेका छन्। 

बागमती प्रदेशका १३ जिल्लामा २ हजार १४५ भोट रहेको छ। ती मध्यै उपत्यकामा मात्रै करिब ९ सय भोट छ। पहिलो राउन्डमै चुनाव जित्न ५१ प्रतिशत मत ल्याउनु पर्ने कांग्रेसको विधानमा व्यवस्था छ। 

मंसिर १८, २०७८ शनिबार ०९:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।